काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध भ्रमपूर्ण प्रचारवाजी गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार पार्टीको जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफूलाई बदनाम गर्न विरोधीहरुले नानाथरी हल्ला फैलाएको भन्दै आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले देश र जनतालाई सम्मृद्ध बनाउने अभियानमा आफू लागिपरेको बेला आफूमाथि विभिन्न पुष्टि गर्न नसकिने आरोप र प्रत्यारोप लगाई गरिएको हल्ला सत्य नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले पुष्टि हुन नसक्ने हल्ला फिँजाएर समाजमा द्वन्द्व फैलाउने गतिविधिले लोकतन्त्रको रक्षा नगर्ने उल्लेख गर्दै तथ्यहीन प्रचारमा नलाग्न समेत सबैलाई आग्रह गरेका छन् ।
ु प्रधानमन्त्री ओलीले भने,‘म प्रधानमन्त्रीका लागि मात्रै प्रधानमन्त्री भएको होइन, देश र जनतालाई समृद्ध बनाउने अभियानमा हिँडेको मान्छे हुँ । ममाथि नानाथरी भ्रम फैलाउने काम गरिएको छ । ती सबै तथ्यहीन कुरा हुन् ।’ राजनीतिक प्रतिवदेनमाथि धारणा राख्ने क्रममा नेताहरूले उठाएका प्रश्नको अध्यक्ष ओलीले अहिले जवाफ दिइरहेका छन् । पछिल्लो समय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाटीको नियम विपरीत गतिविधि गर्नेलाई अनुशासन सिकाउने पक्षमा लागेका छन् । अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विधि विद्यान र सत्यताका आधारमा मात्र पार्टीका कुरा बाहिर राख्न आग्रह गर्दै आएका छन् ।




