मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विराटनगरमा समानान्तर भेला आयोजना गर्ने शेखर कोइराला पक्षको कदमप्रति असन्तुष्टी व्यक्त गरेका छन् । कोशीको पहिलो प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्ता भेलाहरू (पार्टीसँगं) संयोजन नगरी गर्न नहुने बताएका हुन् ।
महामन्त्री थापाले टेक्निकल कुरा गरेर पार्टीभित्र एकता हुन नसक्ने बताएका छन् । ‘पार्टीभित्र एकता अनिवार्य छ, सबैलाई मिलाएर लैजाने कुरा अनिवार्य छ,’ महामन्त्री थापाले भने, ‘पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन, राजनीतिक कुरा हो मिलाउनु पर्छ, सबैलाई मिलाउनु पर्छ ।’
‘केही समयअघि रूपन्देहीको क्षेत्रीय समितिले देशभरका १६५ वटै क्षेत्रका सभापतिहरूको भेला बोलाउँछु भन्यो, हामीले नगर्नुस् । केन्द्रले त्यसको आयोजना गरिदिन्छ, बरू संयोजन गर्नुस् भन्यौं । कास्कीले पनि ७७ वटै जिल्ला सभापति बोलाउँछु भन्यो हामीले त्यसै भन्यौं’, महामन्त्री थापाले भने ‘भेला गर्न, देशैभरि घुम्न पाइन्छ। तर, संयोजन नगरी नगरौं । विराटनगरको कुनै वडा समितिले वडा सम्मेलन गर्दिन्छु भन्यो भने, महानगर समितिले के गर्छ ? केन्द्रले भनेको यति मात्रै हो ।’
प्रदेश सम्मेलनको मुखैमा मंसिर १८ मा कोइराला पक्षले कोशीका पालिका सभापतिहरूको भेला आयोजना गरेको थियो। त्यसको संयोजन कांग्रेस विराटनगर महानगर समितिले गरेको थियो । पार्टीको प्रदेश भेलामा त शेखर कोइराला सहभागी नै भएनन् । महामन्त्री थापाले त्यसैतिर लक्ष्य गर्दै असन्तोष जनाएका हुन् ।
‘हामी पनि बागी विद्रोही भएरै आएको हो । मेरो कुरा सबै मिलेर पार्टी सम्हालौं भन्ने हो’, थापाले थपे, ‘यो मन्चमा भर्खरै सकिएको निर्वाचनको पनि एकांकी समीक्षा भयो । मञ्चमा जतिले पालैपालो कांग्रेस हारेको छ भनेको छ, मुलुकैभरि सिनित्तै भए जस्तो कुरा गरेको छ । कति ठाउँ हार्यौं हामी ? कोसँग हिसाब छ ?’ उनले भने ‘अहिले जहाँ हारियो भन्दै हुनुहुन्छ, त्यहाँ पहिलेभन्दा मत बढेको छ । फरक ठाउँमा फरक फ्याक्टरहरू छ । ग्रामथान बारे यहीँ छलफल गर्नुस् । यहाँ आएर बसेर पालैपालो हार्यो हार्यो भनेको छ । यसो नगर्नुस्, मेरो आग्रह छ ।’
हिजो अधिवेशनमा समूह बनाएर लडेको भन्दै थापाले जित हारलाई ग्रहण पनि गर्नुपर्ने बताए । ‘पार्टीमा लडौं, बहस गरौं, छलफल गरौं तर पार्टीका एकता अनिवार्य छ । सबैलाई मिलाएर लैजानु पर्छ । जित्ने हार्ने सबै । हामी सबै खालका छौं नि त । तर, अस्ति नै किन मत नदिएको भनेर अहिले सभापतिसँग मन्चमा सँगै नबस्ने भन्ने हुँदैन’, थापाले भने ‘ सभापतिसँग अहिले पनि कति कुरा कुरा मिल्दैन । समेट्नु पर्छ भनिरहेका हुन्छौं । कराइरहेका हुन्छौं । तर, यसो भन्दै गर्दा आफ्नो भागमा परेको कामको जिम्मा पनि त लिनुपर्यो ।’ भ्रातृ संस्थाहरूको अधिवेशन गर्न भनेर निर्देशन समिति पनि ६०–४० को भागमा बनेको बताउँदै थापाले भने, ‘काम गर्छु भनेर भाग लाएपछि जिम्मा लिनुपर्छ । ६० सभापतिको जिम्मा हो भने ४० भाग लिनेले पनि जिम्मा त लिनुपर्छ ।’




