राजनीति

गृहजिल्ला डडेल्धुरामा देउवालाई भव्य स्वागत, अधुरा विकास निर्माणलाई पूर्णता दिने प्रतिवद्धता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २ वर्षपछि संघीय राजधानीबाट आफ्नो गृहजिल्ला डडेल्धुरामा भ्रमणमा रहेका छन् । २०७९ मंसिर ३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान गरेर देउवा सोही दिन संघीय राजधानी फर्किएपछि पहिलो पटक सभापति देउवा गृहजिल्ला डडेलधुरा पुगेका हुन् । त्यहाँ सभापति देउवालाई फूलमालासहित भव्य स्वागत गरिएको छ ।

लामो समयपछि सोमबार गृह जिल्ला पुगेका पार्टी सभापति देउवा अहिले पुराना नेता एवं कार्यकर्ता भेटघाटदेखि विभिन्न धार्मीक र पर्यटकीय स्थलको अवलोकन भ्रमणमा केन्द्रित भएका छन् । सभापति देउवाले पर्यटकीय क्षेत्र आलिताल त्यसपछि परशुराम धामको दर्शन गरिसकेका छन्। नेताकार्यकर्ता भेटघाटको क्रममा देउवाले डडेल्धुरामा अधुरा रहेका विकासका कामलाई पूर्णता दिने प्रतिवद्धता समेत जनाएका छन् । रंगुन नदीमा अधुरो रहेको तटबन्ध निर्माण गर्ने, परशुराम नगरपालिका ६ र १२ जोड्ने रंगुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडक खण्डमा पनि पक्की पुल निर्माण गर्ने देउवाले बताएका छन् ।

साथै महाकालीमा भारत जोड्ने पक्की पुल निर्माणका लागि पनि प्रक्रिया अगाडि बढेको बताएका छन्। डडेल्धुरा बसाइँकै क्रमा देउवालाई माओवादी केन्द्र परशुराम नगर कमिटीले एक सय ७२ बुँदे ध्यानाकर्षणपत्रसमेत बुझाएको छ। नगर कमिटी अध्यक्ष शेरसिंह मालको नेतृत्वमा मागपत्र बुझाइएको हो।

परशुरामबाट डडेल्धुरा जिल्ला सदरमुकाम जाने क्रममा बाजागाजासहित स्वागत गरिएपछि देउवा निकै उत्साहित समेत बनेका छन्। देउवा २०७० पछि पहिलोपटक सडक मार्ग भएर गृहजिल्ला पुगेका हुन्। जिल्ला सभापति भीमबहादुर साउदले देउवा गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा पनि सहभागि भएका छन्। उनले आज २८ गते पालिकास्तरीय भेटघाट र भोलि २९ गते कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम छ।

सभापति देउवा ३० गते आफ्नो गृहपालिका गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुनेछन्। पूर्वप्रधानमन्त्रीले देउवाले डडेल्धुराबाट ७ पटक चुनाव जितिसकेका छन्। २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट पहिलोपटक विजयी भएका थिए। देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ र २०७९ को संसदीय चुनाव जितेका थिए। कांग्रेस सभापतिदेउवा पाँच पटक प्रधानमन्त्री समेत भइसकेका छन्। डडेलधुराका जनताले देउवाले गरेका विकासको प्रशंसा गर्दै अपुरा योजना समेत पुरा हुने विश्वास लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *