काठमाडौं । सत्तारुढ कांग्रेस र एमालेले बागमती प्रदेशमा पनि सरकारको कामकारबाही प्रभावकारी बनाउन दुई दलीय संयन्त्र गठन गरेका छन् ।
आइतबार बसेको कांग्रेस र एमाले प्रदेश कमिटीको संयुक्त बैठकले संयन्त्रमा कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, मुख्यमन्त्री बहादुरसिंह लामा र कांग्रेस प्रदेश उपसभापति चन्द्र महर्जन तथा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेललाई चयन गरेको छ ।
संयन्त्रमा कांग्रेस र एमालेले पालैपालो नेतृत्व लिने र आगामी मंसिर मसान्तसम्म कांग्रेसले नेतृत्व गर्ने भएको छ । संयन्त्रको सचिवालयमा कांग्रेस र एमालेबाट एक–एकजना सदस्य रहने छन् । संयन्त्रको बैठक महिनामा एकपटक अनिवार्य बस्ने र आवश्यकताअनुसार पटकपटक बस्न सक्ने निर्णय भएको छ ।
यसअघि कांग्रेसले संघमा पनि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयन्त्र गठन गरेको थियो । जसमा कांग्रेस र एमालेबाट चार चारजना रहेको कार्यदल पनि गठन गरेको थियो ।




