काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विवादमा तानिएका छन् । बिहीबार सामाजिक सञ्जालमा राखेको एउटा स्टाटसकै कारण उनको चौतर्फी आलोचना भइरहेको छ ।
कांग्रेसमा बौद्धिक नेताको छवि बनाएका भण्डारी सांसद पनि हुन् । सांसदलाई देशको कानुन के कस्तो छ भन्ने सामान्य जानकारी हुनुपर्ने हो । तर बलात्कार सम्बन्धित कानुनी अवस्थाबारे प्रश्न उठाएपछि उनी विवादमा तानिएका हुन् ।
भण्डारीले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानुनी आवश्यकता भएको बताएका छन् । ‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन ? परिभाषाको अवस्था,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
भण्डारीको स्टाटसमा धेरैले सन्दीप लामिछानेमाथिको फैसलालाई जोडेर प्रतिक्रिया जनाएका छन् । बलात्कारसम्बन्धी कानुन नै त्रुटिपूर्ण रहेको तथा सन्दीपमाथि गरिएको फैसला पनि एकपक्षीय रहेको अधिकांशको टिप्पणी छ । भण्डारी सांसद भएकाले बलात्कारसम्बन्धी कानुनबारे जानकार हुनुपर्ने हो भन्दै उनको आलोचना गरिएको छ ।
धेरैले भण्डारीको बौद्धिक स्तर पनि देखियो भन्दै उनको विरोध गरेका छन् । अधिकांश महिला सामाजिक सञ्जाल प्रयोगकर्ताले भण्डारीको स्टाटसप्रति आपत्ति जनाएका छन् । कतिपयले त भण्डारीमा मानसिक समस्या भएको भन्दै तिखो प्रतिक्रिया जनाएका छन् ।
यसअघि हिजो गण्डकी प्रदेशका सांसदले विदेशीको इशारामा सन्दीपलाई फसाइएको आरोप लगाउँदै स्टाटस लेखेका थिए । बाग्लुङका सांसद कृष्ण पाठकले लेखेका थिए, ‘विदेशीको इशारामा एक होनाहार क्रिकेटरलाई बलि चढाइयो ।’ क्रिकेट सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठह¥याइएपछि सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रियाहरू व्याप्त भइरहेका छन् ।
बलात्कारसम्बन्धी कानुनको दुरुपयोग भएको अधिकांशको टिप्पणी छ । अदालतले सन्दीपलाई आठ वर्ष कैद सजाय सुनाएपछि उनलाई फसाइएको भन्दै एकथरी उनको सपोर्टमा देखिएका छन् भने अर्कोथरी अदालतले न्यूनतम सजाय तोकेको भन्दै असन्तुष्ट देखिएका छन् ।




