काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेतीपातीको समयमा मल, बीउ विजन सहज उपलब्धताका लागि सरकारले सुन्ने र बुझ्ने भाषामा किसानका संगठनहरूले आवाज उठाउनुपर्ने वताएका छन् ।
पार्टीको जनसंगठन अखिल नेपाल किसान महासंघको दुई दिने तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मागपत्र बुझाउँदा किसानका समस्या नसुन्ने सरकारलाई बुझ्ने भाषामा सुनाउन निर्देशन दिए ।
महासंघमा आवद्ध सबै घटक संघसंस्थाहरू मिलेर सरकारलाई किसानका समस्या सुन्न बाध्य पार्ने कदम चाल्न निर्देशन दिँदै अध्यक्ष ओलीले अन्नपानी सबैलाई आवश्यक हुने हुँदा किसानले चाल्ने कदममा सबै पेशा व्यवसायका मानिसको ऐक्यबद्धता रहने विश्वास व्यक्त गरे ।
उनले भने,‘सरकारले किसानका समस्या सुन्नुपर्छ । कृषि प्रधान देशमा कृषिमन्त्रीको मुख्य काम किसानका समस्या समाधान गर्ने हो । पिर्के सलामी खाने होइन ।’
उनले नेपालमा सरकारले किसानलाई कहिल्यै पर्याप्त मल उपलब्ध गराउन नसकेको वताउँदै किसानका नेताहरूलाई कृषिमा उदाहरणीय, अनुशरणीय काम गरेर परिचय बनाउन सुझाव पनि दिए ।




