काठमाडौं । २०७८ साल असोज २२ गते । विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा उदाएकी रामकुमारी झाँक्रीले पहिलोपटक सरकारी लाभको पद हासिल गरेकी थिइन् । एमालेमै रहँदा समेत मन्त्री बन्न योग्य रहेको भएपनि अध्यक्ष केपी शर्मा ओली इतर समुहमा रहेका कारण उनले राजकीय पद पाएकी थिइनन् ।
तर जब एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल गठन भयो । अनि झाँक्री सचिव बनिन् । उनलाई अध्यक्ष माधवकुमार नेपालले सहरी विकास मन्त्रालयको नेतृत्वमा पठाए । सरकारमा पहिलोपटक मन्त्रीका रुपमा पुगेकी झाँक्री उत्साहित समेत थिइन् । उनी सबैभन्दा खुसी समेत देखिइन् ।
मन्त्रालयमा ८ महिना २० दिन काम गरेपछि पार्टीको निर्णयअनुसार झाँक्री आज राजीनामा दिएर सिंहदरबार छाडेकी छन् । मन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री झाँक्री झण्डै ३० मिनेट सहभागी भइन् । अधिकांश समय झाँक्री गहभरी आँशु बनाइन् । शुरुमा आँशु रोक्न खोजेकी झाँक्री अन्तिमसम्म पुग्दा भने रोइरहिन् ।
एमाले विभाजन भएपछि गठन भएको नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता हुने क्रममा अध्यक्ष माधवकुमार नेपालको हात समात्दा समेत झाँक्रीको चर्चा चुलिएको थियो ।





