रिबन

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने, खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्न निर्देशन

काठमाडौं।निर्वाचन आयोगले शुक्रबारसम्म देशका ७७ वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्र ढुवानी गर्ने जनाएको छ ।

आयोगले आज एक विज्ञिप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाई सम्पन्न भएको छ । वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीहरूलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न आयोगले आदेश दिएको छ ।

उपर्युक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ ।

साथै, मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *