काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पर्सी आइतबार बस्ने गरी सकिएको छ । बैठकमा नेपाली कांग्रेसले सुरु गरेको एक महिने अभियान र स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको थियो ।
कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीले भनेझैं कर्णाली प्रदेशमा गठबन्धन गर्ने हो भने कर्णालीमा कांग्रेसले कुनै पनि स्थानीय तहमा जित्न नसक्ने बताएका छन् । यस्तै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । यदि गठबन्धन गदै जाने हो भने नेपाली कांग्रेस कमजोर बन्दै जाने बताए ।
लुम्बिनीका सभापति अमरसिंह पुनले पनि गठबन्धन केन्द्रबाट गर्ने नभएर आवश्यकता अनुसार स्थानीयस्तरबाटै गर्न सकिने संकेत गरेका थिए । उनले यदि यस्तै गरी गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तै बन्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । पार्टी कार्यालय बैठकमा अधिकांश वक्ताहरू तालमेल केन्द्रबाट गर्ने कि आवश्यकता अनुसार स्थानीय स्तरबाट गर्ने भन्नेमा केन्द्रित रहे । यस क्रममा वाग्मतीका सभापति इन्द्र बानिया, प्रदेश(१ का सभापति उद्धव थापा र मधेस प्रदेशका सभापति कृष्ण यादवले पनि केन्द्रबाट तालमेलको निणर्य गर्ने कुराको विपक्षमा मत व्यक्त गरेका थिए ।
पार्टी महामन्त्री गगन थापाले बैठक सुरुवात गरेका थिए । आजको बैठकमा ६ जना प्रदेशप्रमुख र गण्डकी प्रदेशप्रमुखसहित २८ जनाले आफ्नो धारणा राखेका थिए । सुदूरपश्चिमका प्रदेश प्रमुख बीरबहादुर बलायत बैठकमा उपस्थित थिएनन ।
आजको बैठकमा आफ्नो धारणा राख्न २८ जना केन्द्रीय सदस्यहरुले नाम टिपाएका थिए । त्यसमध्ये एक दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्न पाए । ‘घर–घर जाउँ, कांग्रेस जिताऔं’ अभियानमा संलग्नहरुले जिल्लाको वस्तुस्थितिबारे संक्षिप्त समीक्षा गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए । प्रवक्ता डा. महतका अनुसार जिल्लाको वस्तुस्थिति मिहिन ढंगले प्रस्तुत गर्नका लागि अभियानको समयसीमा बाँकी रहेकाले सकिएको छैन ।
बैठकले स्थानीय निर्वाचनमा गठबन्धन गर्न आवश्यकताअनुसार गर्न सकिने प्रवक्ता डा. महतले बताए । सत्तामा रहेको राजनीतिक दलसँग मात्र नभएर स्थानीय तहको आवश्यकता र वस्तुपरक ढंगले विश्लेषण गरी गठबन्धन गर्न सकिने प्रवक्ता डा. डा. महतले बताए ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निर्णय लाद्न खोजेको आरोपको प्रतिवाद गर्दै प्रवक्ता डा. महतले भने, ‘केन्द्रीय समितिको निर्णय नै पार्टी सभापतिको निर्णय हो, कुनै व्यक्तिगत निर्णय सभापतिले लाद्न खोजेको छैनन ।’




