रिबन

रसिया–युक्रेन युद्धमा नेपालका कम्युनिष्टहरु किन मौन ?

अमेरिकाले तेस्रो मुलुकमा राजनीतिक गतिविधि ग-यो भने नेपालका कम्युनिष्टहरु अमेरिकी दूतावासमा ढुंगा हान्न पुग्छन् । सडकमा टायर बाल्छन्, चक्का जाम गर्छन, साम्रराज्यवादको नारा उछालेर अमेरिकाविरुद्ध धारे हात लगाएर मनामौजी गाली गर्छन् । यतिबेला रसियाले युक्रेनी जनताको छातीमा बुट बजारिरहेको छ । जसका कारण सयौं युक्रेनी जनताले ज्यान गुमाइसकेका छन् भने लाखौं आफ्नो जन्म भूमि छोडेर छिमेकी मुलुकमा शरणार्थी भएर बस्नु परेको छ । मानवताविरोधी आतातयी घटना हुँदा पनि नेपालका कम्युनिष्टहरु मौन मात्र बसेका छैनन्, युक्रेनलाई समर्थन गर्ने नेपाल सरकारको नीतिको खुलेर विरोध गरिरहेका छन् ।

युक्रेनको राजधानी किभतर्फ अघि बढिरहेको रसियाली सेनाको बर्बरता मानवताविरोधी आततायी घटना हो भन्ने कुरा विश्व समुदायले नियाली रहेको छ । छुट्टै र सार्वभौम राज्यप्रति रसियाको यो कदम जति भत्सना गरे पनि कम हुन्छ । रसियाली सेना मुख्यतयः दुईवटा उद्देश्य पूर्ति नहुञ्जेलसम्म युक्रेनी जनताको रगतमा आहाल खेलिरहन्छन् ।

युक्रेनी राजनीतिक प्रणाली ध्वस्त पारेर वर्तमान राष्ट्रपति भोलोदमिर जोलोन्स्कीलाई ठिङ्गोरो कसेर मस्को नपु¥याएसम्म रसियाली सेना रोकिने छैनन् । रसियाली सेनाको आतंकबाट सयौ युक्रेनी जनताको ज्यान गुमेको छ भने लाखौंले मातृभूमि छोडेर छिमेकीमा त्रिपालको बास बस्नुपरेको छ । रसियाली सेनाको यो आततायी घटनाप्रति नेपालका कम्युनिष्टहरु एक शब्द पनि बोलेका छैनन् । बरु उल्टै रसियाको समर्थनमा अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको विदेश विभाग प्रमुखसमेत रहेका डा. राजन भट्टराईले सार्वजनिक बहसमै रसियाको सैन्य कारबाही ठीक हो भन्ने अभिव्यक्ति दिएका छन् । देशको सार्वभौममाथि खुल्ला रुपमा आक्रमण र मानवता विरोधी घटनाको समर्थक बनेका नेपालका कम्युनिष्टहरुको यो चरित्रप्रति इगित गर्दै इञ्जिनियर शम्भु केसी भन्छन्, ‘अमेरिकाले त्यत्ति गरेको भए नाङ्गो नाँच हुन्थ्यो, रसियाले युक्रेनमाथि गरेको सैनिक कारबाहीलाई कम्युनिष्ट आँखाले ठीक देख्नु गैरजिम्मेवारको पराकाष्ट हो ।’

रसियाबाटै इञ्जिनियरिङ अध्ययन पूरा गरेका र नेपाल इञ्जिनियर एसोसिएसनका पूर्व महासचिवसमेत रहेका इञ्जिनियर केसी भन्छन्, ‘कुनै पनि विवादको युद्ध समाधान होइन, विध्वंश हो । यतिबेला रसिया र युक्रेनमात्र युद्ध गरिरहेका छैनन्, यसको प्रभाव विश्वभरि परिरहेको छ । नेपाल कम्युनिष्टहरुले युद्धबाट होइन, वार्ता र सहमतिबाट समाधान खोज भन्ने आँट गर्नुपथ्र्यो, तर त्यो आँट नेपालका कम्युनिष्टहरुसँग देखिएन । रसियालाई नैतिक समर्थन गरेर युक्रेनी जनताको हुर्मत लिने काम नेपालका कम्युनिष्टहरुले गरेर आफ्नो असली रुप बाहिर ल्याएका छन् ।’

यस विषयमा नेपाल सरकार स्पष्ट देखिएको छ । दुई छिमेकी मुलुक भारत र चीनले समेत दोहोरो भूमिका खेलेको बेला नेपाल स्पष्टरुपमा रसियाको सैन्य कारबाहीको विरोधमा अभिव्यक्ति दिएको छ । रसियाको सैन्य कदम गलत छ, कमजोर देशको सार्वभौमिकतामा धावा बोल्नु हुँदैन भन्ने सरकारको दृष्टिकोण प्रष्ट देखिएको छ ।

सरकारको यो कदमको सत्ता साझेदार दलसमेत सन्तुष्ट छैन । नेपालले असंलग्न राष्ट्रको नीतिमा जोड दिनुपर्ने दबाब सत्ता साझेदार दलहरुले दिइरहेका छन् । युद्ध होइन, वार्ता र सहमतिबाट मात्र समाधान सम्भव छ भन्ने कुरालाई नेपालले अघि सार्दा नेपालका कम्युनिष्टहरुको चित्त दुख्नु विश्व राजनीतिलाई नबुझ्नु हो । तत्काल रसियाले राजनीतिक लाभ हासिल गर्ला तर, यो युद्धले दीर्घकालमा के असर पु¥याउँछ भन्ने कुरा यतिबेलै अनुमान गर्नु छिटो हुन्छ ।

पछिल्लो समय रसियाका विदेशमन्त्री सर्गेई लाभ्रोभ ले दिएको अभिव्यक्तिले अब तेस्रो विश्वयुद्ध नजिक छ भन्ने अनुमान लगाउन कुनै कठिनाइ हुँदैन । अमेरिकी समूहको उत्तर एटलान्टिक सैनिक संगठन (नेटो) ले युक्रेनलाई यसरी नै हतियार उपलब्ध गराउने हो भने रसियाले परमाणु अस्त्र प्रयोग गर्ने बताएका छन् । यदि युद्धमा परमाणु अस्त्र प्रयोग हुन थाल्यो भने संसार ध्वस्त हुने बेर लाग्दैन । यो अवस्थामा रसियालाई युद्ध गर्न नैतिक समर्थन गर्ने कम्युनिष्टहरुले के जवाफ देलान् ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *