देश

रविको अभिव्यक्तिप्रति शहीद परिवारको आपत्ति, रसिलाले भनिन् – “हाम्रो पीडालाई सजिलो संघर्ष नभन्नुस्”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको हालैको अभिव्यक्तिप्रति शहीद परिवारकी सदस्य रसिला लामिछानेले कडा असन्तुष्टि व्यक्त गरेकी छन् । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी दिदी रसिलाले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश सार्वजनिक गरेकी हुन् ।

रवि लामिछानेले पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने क्रममा “हामीले सजिलो संघर्ष गरेर यहाँसम्म आएका हौँ” भन्ने अभिव्यक्ति दिएका थिए । उनले पुराना राजनीतिक आन्दोलन र जनयुद्धको तुलनामा अहिलेको राजनीतिक संघर्ष सहज रहेको सन्दर्भमा उक्त टिप्पणी गरेका थिए ।

तर रसिलाले यस्तो शब्द चयनले आन्दोलनमा ज्यान गुमाएका र पीडा भोगिरहेका परिवारको भावनामाथि चोट पुगेको बताएकी छन् । उनका अनुसार आन्दोलनका क्रममा धेरैले ज्यान गुमाएका, घाइते भएका र परिवारले अपूरणीय क्षति बेहोरेका कारण त्यसलाई “सजिलो संघर्ष” भन्न नमिल्ने उनले उल्लेख गरेकी छन् ।

रसिलाकी आमा रचना खतिवडा अहिले रास्वपाकी समानुपातिक सांसद हुन् । शहीद परिवारको प्रतिनिधित्व गर्दै उनी संसद्मा पुगेकी हुन् । रसिलाले भने आफ्ना भाइको मृत्युको न्याय अझै नपाएको गुनासो गर्दै राजनीतिक नेतृत्वले पीडित परिवारको संवेदनशीलतालाई बुझ्नुपर्ने बताएकी छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत उनले आन्दोलनका क्रममा भएको बलिदानलाई सामान्य रूपमा व्याख्या गर्नु उचित नभएको धारणा राखेकी छन् । “हामीले आफ्ना मान्छे गुमाएका छौँ, त्यसैले त्यो संघर्षलाई सहज भनेर बुझ्न सकिँदैन,” भन्ने आशयमा उनले प्रतिक्रिया दिएकी छन् ।

रसिलाले लामिछानेमाथि न्यायका विषयमा पर्याप्त पहल नगरेको आरोप समेत लगाएकी छन् । आन्दोलनका पीडित परिवार अझै न्यायको पर्खाइमा रहेको भन्दै उनले जिम्मेवार नेताहरूले अभिव्यक्ति दिँदा संवेदनशील बन्नुपर्नेमा जोड दिएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *