देश

अभिनेता विजय बने तमिलनाडुका मुख्यमन्त्री, पहिलो निर्णयमै २०० युनिट बिजुली निःशुल्क

काठमाडौं । दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता थलपति विजय ले तमिलनाडु को मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।चेन्नईस्थित नेहरू स्टेडियम मा आयोजित समारोहमा राज्यपाल राजेन्द्र अर्लेकर ले विजयसहित मन्त्रिपरिषद्का अन्य सदस्यलाई शपथ गराएका हुन् ।

शपथ ग्रहणलगत्तै मुख्यमन्त्री विजयले आफ्नो पहिलो निर्णयस्वरूप राज्यका घरधुरीलाई मासिक २०० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । उनले उक्त निर्णयमा समारोहस्थलमै हस्ताक्षर गरेका थिए ।

त्यस्तै महिलाको सुरक्षालाई लक्षित गर्दै “लायनेस” नामक विशेष कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।समारोहमा राहुल गान्धी समेत सहभागी भएका थिए । कार्यक्रममा बोल्दै विजयले आफू सामान्य परिवारबाट आएको व्यक्ति भएको उल्लेख गर्दै जनतालाई झुटा आश्वासन नदिने बताएका छन् ।

उनले अघिल्लो सरकारले आर्थिक भार बढाएर गएको दाबी गर्दै राज्यको वास्तविक वित्तीय अवस्था सार्वजनिक गर्न “श्वेतपत्र” ल्याइने जानकारी पनि दिएका छन् ।सन् १९७४ मा चेन्नईमा जन्मिएका विजय चर्चित निर्देशक एस. ए. चन्द्रशेखर का छोरा हुन् । अभिनय क्षेत्रबाट लोकप्रियता कमाएका विजयको राजनीतिमा प्रवेशपछि दक्षिण भारतीय राजनीतिमा नयाँ बहस सुरु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *