अर्थ

गृह मन्त्री र अर्थ मन्त्रीबीच चुनाव लक्षित बजेटबारे छलफल

काठमाडौं । गृह मन्त्री बालकृष्ण खाण र अर्थ मन्त्री जनार्दन शर्माबीच चुनाव लक्षित बजेटबारे छलफल भएको छ।

आज (बुधवार) गृह मन्त्रालयमा भएको छलफलमा चुनाव लक्षित बजेटमा पनि विशेष गरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव डा.भीष्मकुमार भुसालले जानकारी दिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले चुनावमा खटिनका लागि सवारीसाधन र बन्दोबस्तीका सामान माग गरेपछि गृह मन्त्री खाणले अर्थ मन्त्रीसँग छलफल गरेका हुन् । सहसचिव भुसालका अनुसार अब गृह मन्त्रालयले भोलि बिहीवारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ ।

छलफलमा गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौलालगायतको सहभागिता थियो । गृह मन्त्री खाणले चुनावको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन अर्थ मन्त्री शर्मासँग छलफलगरेका छन् ।

अर्थ मन्त्री शर्माले चुनावमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक र गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए । गृह मन्त्री खाणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको र नभइ नहुने विषयवस्तुबारे अवगत गराइने जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *