काठमाडौं । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । एमाले अध्यक्ष केपी ओलीले मंगलबारको मिति राखेर २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र आज सबैलाई पठाइएको हो ।
पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने तथा पार्टीको निर्देशनविपरीत विपक्षीलाई समर्थन गर्नेजस्तो अपराधपूर्ण कार्य किन गर्नुभयो ? भनेर पत्रमा सोधिएको छ । यस्तै, पार्टीविरुद्ध भ्रम फैलाएको, गोपनीयता भंग गरेकोलगायतका कसुर गरेकाले तपाईँलाई पार्टीको जिम्मेवारीलगायत साधारण सदस्यबाटै किन नहटाउने ? भनेर स्पष्टीकरण सोधिएको छ । २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नदिएमा कारबाही हुने पनि एमालेले चेतावनी दिएको छ ।
स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेशविपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ । ओली पक्षका आठजनासहित २२ सांसदले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई विश्वासको मत दिएका थिए । एमालेका २२ सांसदले स्पष्टीकरण सोधेकोमा आपत्ति जनाएका छन् । पार्वती विशुंखेलगायतका सांसदहरूले अब ओलीलाई नै पार्टीबाट हटाउन लागिपर्ने उदघोषसमेत गरेका छन् ।




