काठमाडौं । भारत सरकारले नेपालसहित छिमेकी देशलाई आज बुधबारबाट कोभिड विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपाल सहित भुटान, बंगलादेश, माल्दिभ्स, सेसल्स र म्यानमारलाई खोप उपलब्ध गराउने भारतीय विदेश मन्त्रालयले जनाएको हो ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न आज बुधबारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।
कति मात्रामा खोप उपलब्ध गराउने बारे जानकारी भने आएको छैन । भारतीय मिडियाका अनुसार भारतका अन्य केही छिमेकी देशहरुलाई पनि सम्बन्धित देशले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने बताइएको छ ।
नेपालले पनि आजैबाट खोप ल्याउने प्रक्रिया सुरु गर्ने बताएको छ । नेपालको औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो ।




