रिबन

प्रधानमन्त्री ओली धमाधम न्यायाधीशलाई भेट्दै, प्रतिनिधिसभा पुनःस्थापना मुद्दामा प्रभावित गर्न खोजेको आशंका

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संवैधानिक इजलासमा रहेका न्यायाधीशलाई धमाधम भेट्न थालेको समाचार बाहिरिएको छ । प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दाबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा रहेका न्यायाधीशसँग भेट्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रधानमन्त्री ओलीले न्यायाधीश सपना प्रधान मल्ल, हरिकृष्ण कार्की, दिपक कार्की र मीरा खड्कासँग भेटेर छलफल गरेको स्रोतले बताएको छ । मल्ल र कार्कीले पुस २७ गते र त्यसअघि न्यायाधीश दीपक कार्की र खड्काले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेको बताइएको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ हुनुअघि प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा पालैपालो सर्वोच्चका न्यायाधीशहरूसँग भेटवार्ता गर्नुलाई राम्रो मानिएको छैन ।

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा त्यही मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीशलाई भेट्नुले न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेपका रूपमा सबैले बुझेका छन् । मल्ल र कार्की दुवै पूर्वएमाले कोटाबाट सर्वोच्चको न्यायाधीश बनेका हुन् र प्रधानन्यायाधीशको रोलक्रममा रहेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आज पनि संवैधानिक इजलासमा बहस हुँदैछ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई लम्ब्याउँदै लगेको छ । संवैधानिक इजलासमा पाँचजना न्यायाधीशले हेर्ने कि बृहत पूर्ण इजलासमा ११ न्यायाधीशले हेर्ने भन्ने निक्र्योल भइसकेको छैन ।

प्रधानमन्त्री ओलीले अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्न सक्दैन भन्दै भाषण गरिरहेका बेला उनले आफूनिकट न्यायाधीशलाई किन भेटे ? सर्वत्र चासो देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *