काठमाडौं । नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार राति बुढानिलकण्ठस्थित देउवा निवास पुगेका प्रचण्ड र नेपालले करिब दुई घन्टा लामो छलफल गरेका थिए ।
कांग्रेस उच्च स्रोतका अनुसार प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको निर्णयको विरोधमा बेग्लाबेग्लै भन्दा संयुक्त आन्दोलन गर्न प्रचण्ड र नेपालले प्रस्ताव गरेका थिए । आफूहरूले ओलीको असंवैधानिक कदमविरुद्ध देशव्यापी आन्दोलन गरिरहँदा कांग्रेस सभापति देउवाले निर्वाचनमा होमिन तयार रहन कार्यकर्तालाई निर्देशन दिएपछि अन्योलको अवस्था आएको भन्दै प्रचण्ड र नेपाल बुढानिलकण्ठ पुगेका हुन् ।
देउवासँग भएको भेटमा प्रचण्ड र नेपालले संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका बताइएको छ । देउवाले प्रचण्ड–नेपालको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताएका छन् ।
प्रचण्डले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ ?’ भनेर सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको भए पनि चुनावमा जानु लोकतान्त्रिक विधि भएकाले तयार रहन भनेको स्पष्ट पारेका थिए ।
‘पहिले त प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलनको आँधीबेहरी नै ल्याउनुपर्छ भन्नेबारेमै हाम्रो नेतृत्व केन्द्रित भयो, त्यसमा देउवाजीको पनि समर्थन थियो,’ नेकपा उच्च स्रोतले भन्यो, ‘त्यसपछि हाम्रा अध्यक्षद्वयले आन्दोलनमा तपाईंको समर्थन हो भने आन्दोलन कमजोर बनाउने गरी किन चुनावमा जाने कुरा गरिरहनुभएको छ भनेर सोध्नुभएको थियो ।’
जवाफमा देउवाले आफूले दुवै विकल्पमा तयार रहन भनेको बताएका थिए । स्रोतका अनुसार देउवाले भने, ‘हाम्रो पहिलो प्राथमिकता त प्रतिनिधिसभा पुनर्स्थापना नै हो, मैले केपी ओलीले असंवैधानिक काम गरे भनिसकेकै छु, संसद् पुनर्स्थापित होला नहोला, त्यही भएर चुनावको तयारीमा पनि लागौं भनेको हो, प्रतिनिधिसभा पुनर्स्थापना हुन्न चुनावमा लागौं भनेको हैन, दुईवटै विकल्प खुल्ला राखौं भनेको हो ।’




