काठमाडौं । प्रधानमन्त्री केपी ओली नेपाली पत्रकार र मिडियाप्रति निकै वैरभाव राख्ने गर्छन् । पार्टी र आफ्ना कार्यकर्ता पत्रकारलाई बालुवाटारमै कुराकानी गरे पनि अन्य मिडियासँग भने १० हात पर बस्छन् । भारतमा नरेन्द्र मोदीले मिडियाप्रति जस्तो नीति अंगालेका छन्, ठीक त्यस्तै नीति नेपालमा ओलीको छ ।
भारतीय प्रधानमन्त्री मोदी पत्रकारलाई अन्तर्वार्ता दिनुभन्दा बरु कलाकार अक्षय कुमारलाई बोलाएर घन्टौं अन्तर्वार्ता दिन तयार छन्, तर पत्रकारलाई भेट्नै चाहँदैनन् । कुराकानी गर्नै चाहँदैनन् । ओली पनि त्यस्तै गर्छन् । आफ्नो समर्थनमा लेख्ने मिडिया र पत्रकारप्रति खुसी हुने ओली अन्य पत्रकारलाई देखिसहँदैनन् ।
गत शनिबार प्रधानमन्त्री ओलीले भारतीय पत्रकार सुधीर चौधरीलाई बालुवाटार बोलाएर अन्तर्वार्ता दिए, त्यो पनि हिन्दीमा । जुन अन्तर्वार्ता सोमबार राति ९ बजे प्रसारण भएको थियो । चौधरी तिनै पत्रकार हुन्, जसले जी न्युजमा काल्पनिक कथा बुनेर ‘इस्किया’ भन्ने कार्यक्रममार्फत नेपालका प्रधानमन्त्री ओली र चिनियाँ राजदूतको चरित्र हत्या गरेका थिए । तर, तिनै चौधरीलाई बालुवाटारले ‘रेड कार्पेट’ मा स्वागत गरेको छ । नेपाली टिभीका प्रस्तोतालाई १० हात पर राखेर मास्क लगाउन लगाएर भिडियो र फोटो खिचाउने प्रधानमन्त्री ओलीले विदेशी प्रस्तोतालाई निकट राखेर खुला मुख सवालजवाफ गरे ।
भारतीय न्युज च्यानल जी न्युजलाई अन्तर्वार्ता दिँदै ओलीले भनेका छन्, ‘हामीले सधैँ सर्वव्यापी समानताको हिसाबले संवाद र सम्बन्ध राख्नुपर्छ । भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसमा आपत्ति छैन । तपाईंको प्रश्नले भन्छ कि भारत भगवान् वा ठूलो हो, तर वास्तविकता हामी दुवै बराबरी हौँ । भारतले अब आफूलाई ठूलो वा बोस सोच्छ भन्ने पनि मलाई लाग्दैन । किनकि अब औपनिवेशको जमाना गयो । समानताको युग आयो ।’
नक्साको विषय पनि संवादबाट सुल्झाउन सकिने ओलीको भनाइ थियो । ‘भारतले पहिला पनि नक्सा जारी ग-यो, त्यहाँ बाटो बनायो । हामीले संवाद गरौँ भनिरहेको वेला बाटो उद्घाटन पनि गर्यो, त्यो आवश्यक थियो ?’ ओलीले भने, ‘नेपालले पनि आफ्नो नक्सा जारी गरेको छ । विवाद छ भन्दैमा नक्सा जारी गर्ने काम रोकिँदैन । अहिले फरक–फरक नक्सा छन् । भोलि जुन दिन निक्र्यौल हुन्छ नक्सा एकै प्रकारका बन्छन् ।’




