रिबन

कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने १७ देशमा एसियाबाट तीनवटा मात्रै

काठमाडौं । एक वर्षअघि चीनको वुहानबाट सुरु भएको मानिएको कोरोना भाइरसबाट अहिलेसम्म संसारभर १८ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । विभिन्न महादेशमा कोरोना भाइरसको तेस्रो लहरसम्म चलिरहेको छ ।

एसियाबाट कोरोना उत्पत्ति भए पनि यसको सबैभन्दा धेरै असर अमेरिका र युरोपका देशमा परेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म कोरोनाबाट तीन लाख ७७ हजारको मृत्यु भएको छ । जुन संसारकै सबैभन्दा धेरै हो ।

दोस्रो स्थानमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिल रहेको छ । जहाँ अहिलेसम्म दुई लाख तीन हजारले ज्यान गुमाइसकेका छन् । एसिया महादेशको भारत तेस्रो स्थानमा छ । भारतमा मात्रै कोरोनाबाट एक लाख ५१ हजारको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र ढंगले ओरालो लागेको छ । विगत २४ घन्टामा भारतमा कोरोनाबाट एक सय ५० को मृत्यु भएको छ । जुन आठ महिनायताको सबैभन्दा न्यून हो ।

दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोमा एक लाख ३३ हजार, बेलायतमा ८१ हजार चार सय, इटालीमा ७८ हजार, फ्रान्समा ६७ हजार, रुसमा ६१ हजार, इरानमा ५६ हजार र स्पेनमा ५१ हजार आठ सयले ज्यान गुमाएका छन् ।

यसैगरी, कोलम्बियामा ४६ हजार, अर्जेन्टिनामा ४४ हजार, जर्मनीमा ४१ हजार, पेरुमा ३८ हजार, दक्षिण अफ्रिकामा ३३ हजार, पोल्यान्डमा ३१ हजार र इन्डोनेसियामा २४ हजारले कोरोनाबाट ज्यान गुमाएका छन् ।

तर, चीनमा अहिलेसम्म पाँच हजारको मात्र मृत्यु भएको छ । चीनमा ९१ हजार संक्रमित भएका छन् । अमेरिका, दक्षिण अमेरिका तथा युरोपका धेरै देश कोरोनाको चपेटामा परेका छन् । नेपालमा भने झन्डै दुई हजारले कोरोनाबाट ज्यान गुमाएका छन् । नेपालमा साढे दुई लाख संक्रमित बनेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *