काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको नयाँ स्वरूप देखापरेको छ । बेलायतबाट आएका तीन नेपालीमा नयाँ प्रजातिको कोरोना भाइरस (भेरियन्ट) संक्रमण पुष्टि भएको हो ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकाका प्रमुख डा.वासुदेव पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्दा तीनजनामा नयाँ कोरोनाको संक्रमण भएको संकेत देखिएको हो। तर, नेपालमा भएको प्रविधिले त्यसको निर्क्योल गर्न नसक्ने भएकाले थप परीक्षणका लागि नमुना हङकङ पठाइएको छ ।
बेलायतबाट फर्केका सातजनामा कोरोना पोजिटिभ देखिए पनि एसजिन नेगेटिभ तीनजनामा मात्रै देखिएपछि उनीहरुको नमुना हङकङ पठाइएको हो ।
बेलायतबाट फैलिएको भेरियन्ट कोरोना अहिले अमेरिका, युरोप, अफ्रिका हुँदै एसियाका जापान, पाकिस्तान, भारत हुँदै नेपालसम्म संक्रमण फैलिएको छ । जसका कारण सरकारले बेलायतबाट आउनको निगरानी थालेको छ ।
परिवर्तित नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक छ। जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेका अनुसार पुरानो कोरोना भाइरस एकजनाबाट हजारजनामा फैलिन सक्छ भने यो १७ सय व्यक्तिमा सर्न सक्छ। त्यसैले सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको हो ।




