काठमाडौं । प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयविरुद्ध अनेरास्ववियुले आन्दोलनको घोषणा गरेको छ । मंगलबार बसेको अनेरास्ववियुको बैठकले मन्त्रीलाई कालोझन्डा देखाउनेदेखि प्रधानमन्त्रीको पुत्लादहनसम्मको कार्यक्रम घोषणा गरेको नेकपा (प्रचण्ड नेपाल पक्ष) को अनेरास्ववियूका नेता रञ्जित तामाङले जानकारी दिए।
बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले पुस २१ देखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार मंगलबार सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन र कोणसभा गरिनेछ।
तेस्रो चरणको कार्यक्रम भने माघ १ गते सार्वजनिक गर्ने अनेरास्ववीयूले जनाएको छ। यस्तै संसद विघटनको विरोधसँगै अनेरास्ववियूले संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने निर्णय पनि गरेको छ ।
असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधिसभा पुनस्स्थापना गर्दै प्रतिगमनकारी कदम नसच्याउँदासम्म संघर्षका कार्यक्रम सशक्त रुपमा अघि बढाउने विद्यार्थी नेताहरुले बताएका छन्।





