रिबन

ओलीको प्रहसन, नागरिक लज्जित

काठमाडौं । केही दिनयता प्रधानमन्त्री केपी ओलीको भूमिका कमेडी कलाकारका रूपमा परिवर्तन भएको आमनागरिकले अनुभूत गर्न थालेका छन् । देशको प्रधानमन्त्रीले वोल्ने कुरा राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियाका लागि समाचार बन्ने गर्छ । तर, देशको प्रधानमन्त्रीका कुरा सुनेर नेपाली नागरिकले नै लज्जित महसुस गरेका छन् ।

आफ्ना गुटका समर्थकले पड्काउने तालीले ओली जति जति हौसिएका छन्, त्यसले नेपालको भविष्य त्यति त्यति खाडलमा पर्दै गएको अनुभव बौद्धिक वर्गले गरेका छन् । त्यसैले केही दिनयता ओलीले निरन्तर गरेका भाषणबारे विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना सहपाठीको मृत्युको कामना गर्नु, दोस्रो तहका नेताको अपमान गर्नु, उनीहरूको क्यारिकेचर गरेर खिल्ली उडाइरहेका छन्, यसबाट नेपालको नयाँ पुस्ताले निकै क्षति बेहोर्नुपर्नेछ । त्यो राजनीतिक, सामाजिक र आर्थिक सबै हुन्छ । किनभने ओलीले दिएका भाषण सुनेर ताली पडकाउने युवा पुस्ताबाट देशले के अपेक्षा गर्ने ?

आफूलाई अनकन्टक रूपमा प्रधानमन्त्रीमा बस्न नदिएको भन्दै ओलीले जसरी नेकपाका नेताहरूमाथि प्रहार गरिरहेका छन्, यस्तो भद्दा मजाकले नेपालीको भाग्य नै खोटो हो कि भनेर टीकाटिप्पणी गर्न थालिएको छ । प्रधानमन्त्रीको कुर्सीमा बस्ने व्यक्तिले स्टेजमा बसेर क्यारिकेचर गर्दैमा, प्रहसन गर्दैमा, गीत गाउँदैमा समृद्धि आउँछ ? विकासको मूल फुट्छ ? आमजनताले प्रश्न सोध्न थालेका छन् ।

तीन महिनाअघिसम्म बत्ती जाँदैनथ्यो । तर, जब कुलमान घिसिङको म्याद थपिएन, अहिले झ्याप्प झ्याप्प बत्ती जान थालेको छ । मेलम्ची खानेपानी कहिले काठमाडौं आउने हो ? एकिन छैन । तामाकोसी जलविद्युत आयोजना, फास्ट ट्रयाक चाँडै पूरा गर्नेतर्फ कुनै योजना छैन । छलफल छैन । तर, राजनीतिक भेलामा गएर प्रहसन देखाउन भने ओलीलाई फुर्सदै फुर्सद छ ।

कहिले विरामी त कहिले कोरोना भाइरसलाई देखाएर ओली सिंहदरबारस्थित आफ्नो कार्यालय गएर देश विकासबारे छलफल गर्ने, भावी योजना बनाउने, नागरिकलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन कहिले दिने भन्ने योजनासमेत बनाउन नसक्ने ओलीले अहिले देखाएको तमासाले स्वाभिमानी नेपाली नागरिकको शिर निहुरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *