काठमाडौं । प्रधानमन्त्री केपी ओली पछिल्लो समय निकै असहिष्णु बन्दै गएका छन् । देशको कार्यकारी प्रमुख व्यक्तिले तल्लोस्तरमा झरेर शीर्ष नेताहरुलाई गरेको गालीगलौजप्रति आमजनता स्तब्ध बनेका छन् ।
सत्तारुढ नेकपा विभाजन भएर बहुमत पक्षले साथ छाडेपछि ओलीको बर्बराहट सुरु भएको हो । उनले दिनहुँजसो पार्टीको भेला राखेर अर्को समूहका शीर्ष नेताप्रति गालीगलौज गरिरहेका छन् । जसलाई नेपाली जनताले मन पराएका छैनन् ।
आफूलाई प्रधानमन्त्रीको पदमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका निभाउने पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताविरुद्ध उनले मनपरी मात्र भनेका छैनन्, उनीहरूको मृत्युको कामनासमेत गरेका छन् ।
आफू नेतृत्वको नेकपा अनेरास्ववियुको बृहत भेलामा आइतबार ओलीले ‘प्रचण्ड, माधव नेपाललाई नेतालाई सहिद भइदिएको भए श्रद्धाञ्जली दिन पनि सम्झन हुन्थ्यो, तर पार्टी नै छाडेर हिँडेपछि सम्झनु आवश्यक छैन’ भनेका थिए । ओलीले अलिकति पनि मानवीय संवेदनाको हेक्का नराखी विरोधी पक्षमाथि जसरी प्रहार गरिरहेका छन्, त्यसले उनको उचाइ बढाउने होइन, झन् तल झर्ने निश्चित छ ।
कुनै पनि सामान्य मानिसले अरुको मृत्युको कामना गर्दैन । अझ देशको कार्यकारी व्यक्तिले त त्यस्तो गर्न सुहाउँदैन । तानाशाहले पनि यसरी सार्वजनिक रुपमा कसैलाई तँ मरे हुन्थ्यो भनेर पुकारा गर्दैन । प्रधानमन्त्री ओली जो आफूलाई यो देशको लोकप्रिय नेता हुँ भन्ठान्छन्, यस्तै यस्तै गतिविधिले उनी आफ्नो राजनीतिक जीवनको अन्त्य अन्त्यतिर आएको संकेत गरेको विश्लेषण गर्न थालिएको छ ।




