काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभाग उपप्रमुख कुओ यचौको टोलीको चारदिने नेपाल भ्रमण खास उपलब्धीमूलक हुन सकेन ।
विभाजनलाई जोड्ने उदेश्य लिएर आएको टोलीले नेकपाका नेताहरुसँगको भेटघाटपछि निराश भएर फर्कियो । जे अपेक्षा लिएर आएको थियो, त्यो अपेक्षा पूरा नभएपछि नेकपाका नेताहरुलाई सकेसम्म एकता कायम राख नसके निर्वाचनमा मिलेर जाउ भन्ने सन्देशबाहेक अर्को कुनै शब्द खर्च गरेन । बरु चीन पुगेर नेपाल दक्षिणी मुलुकहरुको घेराबन्दीमा पुग्न सक्ने निस्कर्ष निकाल्यो ।
यचौको टोली आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसँगको संवाद नै उनीहरुका लागि पहिलो गाँसमा ढुंगा परेको थियो । राष्ट्रपति भण्डारीसँग चिनियाँ टोलीको भेटघाटमा प्रचण्ड नै दोषी देखाइएको थियो ।
अधिक कोसिस गर्दा पनि प्रचण्डले पार्टी विभाजन गराइछाडेको र महाधिवेशनपछि एकल अध्यक्ष बनाउने प्रस्तावमा पनि प्रचण्ड सहमत हुन नसेका कारण उनीहरुले विभाजन रोजेको शैलीमा कुराकानी भएको थियो । त्यसक्रममा राष्ट्रपतिको अभिभावकीय भूमिकाको मेलो मिलाउँदै नेकपा विभाजन हुनुको कारण जान्न चाहेको थियो । ‘महामहिमसँग चिनियाँ टोलीले नेकपाका नेताहरु विभाजित भएकै हुन् कि मिल्न सक्ने केही ठाउँ बाँकी छ, तपाईको भूमिका केही हुनसक्छ कि भन्ने आशयको जिज्ञासा थियो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने । त्यसमा आफ्नो भूमिका केही हुन नसक्ने जवाफ दिएपछि सवा घण्टामा चिनियाँ टोली फर्केको थियो ।
सोही दिन राति प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्री ओलीको समय मिलेका खबर पाएपछि बालुवाटार पुगेको थियो । बालुवाटारमा पनि सोही आशयको जिज्ञासा राखेको टोलीलाई प्रधानमन्त्री ओलीले मिल्न सक्ने आधार बाँकी रहेको, आफूले कार्यकारी अधिकार मात्रै हटाएको अध्यक्ष कायमै राखेको बताएक थिए । उनले यो नेकपाकै आन्तरिक मामिला भएकाले आफूहरु नै यसको समाधान गर्न सक्षम रहेको बताएर घुमाउरो भाषामा चिनियाको सो जिज्ञासाप्रति असहमत रहेको जनाउ दिएका थिए ।
प्रधानमन्त्री ओलीको सो धारणापछि चिनियाँ टोलीले नेपालमा सञ्चालित परियोजना र विकास निर्माणमा चिनियाँहरु सहयोगी रहने बताएका थिए । उनीहरुले भेटघाटकै अन्तिममा निर्वाचनमा चाहिँ दुवै पक्षहरु मिलेर जाँदा राम्रो होला भन्दै दक्षिणपन्थीहरुले टाउको उठाउन सक्ने भन्दै चिन्ता प्रकट गरेका थिए ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारसहित बसेका ओलीले चिनियाहरुलाई पार्टी विभाजन नभइसकेको र पार्टीभित्रको झगडा आन्तरिक भएकाले केही साथीहरु बाहिरिनु भएको भन्दै टारेका थिए ।
आइतबारको भेटघाट फलदायी नभएपछि यचौको टोलीले प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई भेटघाट गरेको थियो । त्यतिबेला उनीहरुले एकै साथ बस्न नसक्ने भए मिलर निर्वाचनमा जान सि जिनफिङको सन्देश रहेको सुनाएका थिए । उनीहरुले प्रचण्ड, माधव नेपाल र झलनाथलाई सकेसम्म मिलेर अघि बढ्न सुझाव दिएका थिए ।
प्रतिनिधिसभा विघटनलगत्तै चिनियाँ राजदूत र होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनालसम्मलाई भेट गरेर यचौको टोली आउने जानकारी दिएकी थिइन् । तर प्रधानमन्त्री ओलीले भने त्यसबेला राजदूत यान्छीलाई भेट दिएका थिएनन् । प्रधानमन्त्री ओलीले राजूदत यान्छीलाई भेट नदिँदा उनी चिनियासँग टाढिएको सहजै अनुमान हुन्थ्यो । यचौको टोलीलाई प्रधानमन्त्री ओलीले राति मात्रै समय दिएका थिए । उनले भेटलाई पछि धकेल्न खोजेको भए पनि प्रधानमन्त्री ओलीले उनीहरु आएकै राति बोलाएर उनीहरुको भ्रमणको मक्सद बुझेका थिए ।
परराष्ट्र मन्त्रालय समेत यो भ्रमणबारे औपचारिक रुपमा बेखर रहेका बेला ओलीले चिनियाँ टोलीलाई प्रचण्डले बोलाएको आशंका गरेका थिए । तर यचौको टोली भने नेकपालाई जोड्नका लागि कुनै रसायन काम लाग्छ भन्ने खोजीमा थियो । प्रधानमन्त्री ओलीले भारतीय रअ प्रमुख सामन्त गोयल, सेनाध्यक्ष मनोजमुकुन्द नरवणेदेखि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई सहजै भेट दिएको विषयमा चिनियाँहरु जानकार नै रहेका थिए ।
ओलीसँग भेटघाटपछि उनीहरु सोमबार विहानको भेट प्रचण्ड र दिउसो माधव नेपाल तथा झलनाथ खनालसँगको भेट पनि उनीहरुका लागि फलदायी भएन । नेकपाका नेताहरुले यचौ टोलीसँग पार्टी विभाजनबारे एकले अर्को समूह दोषी रहेको देखाएर पन्छिएका थिए । मंगलबार उनीहरुले वामदेव गौतमसँग पनि भेटघाट गरे । गौतम एकताको सूत्रधार बन्न सक्ने उनीहरुको अपेक्षा भने कायमै रहेको स्रोतको दावी छ । चिनियाँहरुकै सल्लाहमा गौतमले यतिबेला पार्टी एकता अभियान सुरु गर्न लागेका छन् ।




