रिबन

वामदेव कतै नलाग्ने, ‘नेकपा एकता समिति अभियान’ घोषणा गर्ने तयारीमा

काठमाडौं । सत्तारुढ नेकपा दुई चिरामा विभाजन भएको डेढ साता बितिसक्दा पनि वामदेव गौतम कतै खुलेका छैनन् । एउटा नेकपाको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् भने अर्कोको नेतृत्व केपी ओलीले गरेका छन् ।

पार्टी एकढिक्का हुँदा वामदेव उपाध्यक्ष र सचिवालय सदस्य थिए । पहिलेको पार्टीका एक अध्यक्ष ओली र महासचिव विष्णु पौडेल एकातिर छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ अर्को समूहमा छन् ।

उपाध्यक्ष गौतमले आफू अहिले ‘पर्ख र हेर’ को नीति लिएर कतै नखुल्ने घोषणा गरेका छन् ।
वामदेव गौतम नेकपा विभाजन समूहभन्दा बाहिरै रहेका छन्। उनले यसबीचमा नेताहरुसँग भेटघाटका क्रममा आफू पार्टी एकताका लागि पहल गरिररहेको र एकताको ठाउँ खाली राखेर गतिविधि गर्न दुवै पक्षका नेताहरुलाई भनिरहेका छन्।

नेपालमा विद्यमान कानूनले दुई दल मिलेर एकीकरण भएको पाँच वर्षसम्म विघटन गर्न पाइँदैन भनेको हरफलाई समातेर वामदेवले नेकपा अहिले पनि नफुटेको भन्दै तर्क गरिरहेका छन् ।

उनलाई भेटेर फर्केका नेताहरूका अनुसार वामदेव गौतम चाँडै ‘नेकपा एकता समिति अभियान’ घोषणा गर्ने तयारीमा रहेका छन्। नेकपा विभाजन गर्न सम्भव नभएको भन्दै वामदेव दुवै पक्षलाई मिलाउन पहलकदमी लिने भएका छन् । तर, ओली र प्रचण्डबीच एकअर्काको कटाक्ष हेर्दा र सुन्दा तत्काल जुट्ने सम्भावना पनि देखिँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *