देश

पश्चिम एसिया द्वन्द्वपछि ३० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए, ८७ हजारले विवरण दर्ता गरे

काठमाडौँ । पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार तीमध्ये धेरैजसो कामको सिलसिला वा बिदामा नेपाल फर्किएका हुन् । मध्येएसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार कतारबाट मात्रै करिब २१ हजार नेपाली फर्किएका छन् ।

द्वन्द्वपछि परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमा हालसम्म ८७ हजार ८१९ जना नेपालीले आफ्नो अवस्थाबारे विवरण दर्ता गराएका छन् ।

इरानको हर्मुज क्षेत्रमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ । साथै इरानमा रहेका अन्य नेपालीमध्ये अधिकांश सुरक्षित रहेको पनि जानकारी दिइएको छ ।

प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार इरानमा रहेका १० नेपालीमध्ये २ जना स्वदेश फर्कने तयारीमा छन् भने बाँकी ८ जना सुरक्षित अवस्थामा रहेका छन् ।

मन्त्रालयले सम्बन्धित क्षेत्रमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम भइरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *