देश

फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक लगाइएको छ । उक्त पदमार्ग स्तरोन्नति भइरहेकाले पाँच दिनका लागि खच्चड ओहोरदोहोर गर्न/गराउन रोक लगाइएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले गाउँपालिकाको वडा नं ५ राना गाउँस्थित फिलिम–लार्केपास पदमार्गमा ढलान तथा रेलिङ निर्माणका लागि भइरहेकाले मङ्गलबार आजदेखि खच्चड हिँडाउन बन्द गर्न लागिएको जानकारी दिनुभयो ।

“वैशाख ८ गतेदेखि १२ गतेसम्म खच्चड आवतजावत गराउनुपरे वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ, पैदलमार्ग स्तरोन्नति सम्पन्न भएलगत्तै पुनः सहज बनाइनेछ”, उहाँले भन्नुभयो ।

चुमनुब्री गाउँपालिकामा अहिले पनि दैनिक उपभोग्य वस्तु खाद्यान्नलगायत निर्माण सामग्रीसमेत खच्चडबाट ढुवानी गराउनुपर्ने बाध्यता रहँदै आएको छ । गाउँपालिकाले खच्चड व्यवसायीलाई पनि पाँच दिनका लागि खच्चड आवतजावत बन्द गरिदिन अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *