काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा भाषणका क्रममा भने, ‘ओली वैशाखसम्म मात्रै हो प्रधानमन्त्री, त्यसपछि पत्तासाफ ।’ प्रचण्डको यो भनाइको तात्पर्य विरोधसभामा उपस्थित हुने उनका नेता कार्यकर्तामध्ये धेरैलाई थाहा नभए पनि बाहिर बसेर सुन्नेले भने नोटिस गरेका थिए ।
ओलीले संसद् विघटन गरेर वैशाखमा निर्वाचनको मिति तोकेसँगै आमजनतामा भित्रभित्र अर्कै खिचडी पाकेको धेरैले अनुमान गरेका थिए । जसलाई प्रचण्डले मंगलबार सार्वजनिक गरे । प्रचण्डकै भनाइलाई पुष्टि गर्ने रहस्य नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरणले पनि खुलासा गरेका छन् ।
भारतीय पूर्वविदेश सचिव श्याम शरणले नेपालमा प्रधानमन्त्री केपी ओलीको विकल्पको खोजी भइरहेको तथ्य खोलेका हुन् । दी ट्रिव्युन इन्डियामा एउटा लामो आलेखमार्फत उनले नेपालको अहिलेको राजनीतिक अवस्थामा चीनको मध्यस्तता दाबी गर्दै स्वतन्त्र राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे उल्लेख गरेका छन्।
‘चीनकी राजदूत होउ यान्छी रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त छिन् । चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय टोली नेपाल पठाएको छ,’ उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाव दिइएको छ ।’ ओलीलाई प्रधानमन्त्रीबाट हटाएर उनको ठाउँमा विवादास्पद छवि नभएका राजनीतिज्ञको खोजी चीनले गरिरहेको र यसमा भारतले वास्ता नगरेको श्यामशरणले संकेत गरेका छन् ।





