काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । आइतबार बिहान प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको हो ।
राईको ठाउँमा नयाँ मुख्यमन्त्री भीम आचार्यलाई प्रस्ताव गरिएको छ ।
प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । यसका प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थक लछुमन तिवारी छन्।
९३ सांसद रहेको प्रदेश नं १ मा प्रचण्ड माधव समूहको सरकार बनाउन पुग्ने प्रष्ट बहुमत संख्या ४७ रहेको बताइन्छ ।
प्रदेश १ सरकारका तीन मन्त्रीले आइतबार राजीनामा दिएका छन्। नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका हुन्। सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन्।




