नेपालको राजनीतिक इतिहासमा आन्दोलनको अगुवाइ सधैं वञ्चित समुदायको बलिदान, आँसु र रगतले भरिएको छ । तर सत्ता बाँडफाँटको समयमा यिनै समुदायलाई बारम्बार छेउतिर धकेलिँदै आएको देखिन्छ ।
थरु, मुस्लिम र अन्य पिछडिएका वर्गको संघर्षलाई प्रायः भाषणमै सीमित गरिएको छ । मुस्लिम समुदाय शिक्षामा पछि पारिएको, रोजगारीमा बेवास्ता गरिएको र अवसरका ढोका बन्द गरिएका कारण अझ गहिरो पीडामा बाँचेको छ ।
यही सन्दर्भमा मुस्लिम समुदायले मोहना अन्सारीलाई आशा र पहिचानको प्रतीकका रूपमा हेरिरहेको छ । मानवअधिकार क्षेत्रमा सक्रिय उनले आवाजविहीनलाई आवाज दिने काम गर्दै आएकी छन् । उनको संघर्ष र दृढताले उनलाई मुस्लिम मात्र नभई सम्पूर्ण वञ्चित वर्गको प्रतिनिधि पात्र बनाएको छ ।
अन्तरिम सरकारबारे बहस भइरहेको अहिलेको अवस्थामा यदि यो सरकार साँच्चै समावेशी बन्न चाहन्छ भने मुस्लिम, थरु र पिछडिएका समुदायलाई छेउतिर राखेर होइन, उनीहरूलाई सम्मानजनक स्थान दिँदै गठित हुनुपर्छ । मुस्लिम महिलाले पनि राजनीतिमा नेतृत्व गर्न सक्छन् भन्ने सन्देश दिन अन्सारीलाई मन्त्री मण्डलमा समावेश गर्नु आवश्यक देखिन्छ ।
यो केवल मुस्लिम समुदायको माग मात्र होइन, लोकतन्त्रलाई समावेशी र न्यायपूर्ण बनाउनुपर्ने राष्ट्रिय आवश्यकता हो । वञ्चित समुदायको सहभागिता बिना लोकतन्त्र अधुरो हुन्छ र यो केवल शक्तिशालीहरूको शासनमा सीमित हुन्छ ।
त्यसैले, अन्तरिम सरकार गठनको वर्तमान अवसरलाई वास्तविक समावेशी लोकतन्त्रको बीज रोप्ने अवसरका रूपमा लिन जरुरी छ ।




