काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदमा जारी अवरोधबारे ठोस निर्णय लिन संसदीय दलको विशेष बैठक बोलाएको छ। पार्टीले प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले विज्ञहरूसमेत सहभागी हुने गरी जेठ १९ गतेको लागि बैठक तय गरेको हो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा शुक्रबार बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो। सचिव देवेन्द्र पौडेलका अनुसार, बैठक माओवादी संसदीय दलको कार्यालयमा दिउँसो १२ बजेका लागि बोलाइएको थियो ।
माओवादी केन्द्रले हालसम्म विपक्षी दलहरूसँग मिलेर संसद अवरुद्ध गर्दै आएको छ। तर, बिहीबार भने सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटलाई संसदमा पेस गर्न अवरोध हटाएको थियो।
अब माओवादीले संसद अवरोध जारी राख्ने कि नयाँ बाटो अपनाउने भन्ने निर्णय यही बैठकबाट लिने तयारी गरेको छ। पौडेलले भने, “संसद अवरोधलाई लिएर विज्ञहरूको राय लिइनेछ र त्यसकै आधारमा आगामी कदम तय हुनेछ।”




