काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ सालमा हुन नसक्ने लगभग निश्चित भए पनि पार्टीभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस भने चुलिँदै गएको छ। विधानअनुसार सभापति शेरबहादुर देउवा पुनः उम्मेदवार बन्न नपाउने भएपछि नयाँ अनुहारको खोजीमा कांग्रेस प्रवेश गरेको छ।
क्रियाशील सदस्यता वितरण र नवीकरण अझै नसकिएकोले कांग्रेसले महाधिवेशन यसै वर्ष गर्न सक्ने सम्भावना टर्दै गएको छ। विधानअनुसार ५ वर्षभित्र महाधिवेशन हुनैपर्ने हुँदा पार्टी अब २०८३ सालमै महाधिवेशन गर्न बाध्य छ।
पार्टीभित्रका केही नेताहरूले महाधिवेशन र आमनिर्वाचन एउटै समयमा नपार्नुपर्ने भन्दै अलग–अलग समयको सुझाव दिएका छन्। यो सन्दर्भ संविधान संशोधनसँग पनि जोडिएको छ, जसको बहस एमाले–कांग्रेस सहमतिअनुसार यसै वर्ष हुने सम्भावना छ।
देउवाको बहिर्गमनसँगै नयाँ पुस्ताको नेतृत्वको माग तीव्र छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेतृत्व उमेर होइन, विचारका आधारमा आउनुपर्छ भन्दै कार्यशैली, सोच र प्रणालीमा परिवर्तन आवश्यक रहेको बताए।
सभापतिले हालसम्म कुनै उत्तराधिकारी तोकेका छैनन्। यसै कारण नेताहरू आन्तरिक छलफलमा जुटिरहेका छन्। प्रभावशाली नेताहरूबीच समन्वय गरेर बलियो समूह निर्माण गर्ने प्रयास भइरहेको छ, जसले भविष्यको नेतृत्व सुनिश्चित गर्न सक्ने विश्वास गरिएको छ।
पार्टीभित्र मात्र होइन, आम जनमानसमा पनि कांग्रेसको महाधिवेशनले कुन बाटो समाउने हो भन्ने चासो बढेको छ। यदि उही पुरानो शैली दोहोरियो भने कांग्रेसले आफू नै विकल्प हो भन्न सक्दैन। तर, अग्रगामी सोच भएका नेताहरूले नेतृत्व सम्हालेमा महाधिवेशनले नयाँ राजनीतिक युगको संकेत दिन सक्ने विश्लेषण छ।




