राजनीति

राजनीतिमा निष्ठा होइन, अब सम्पत्तिको मोह हाबी छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिलेको राजनीति मूल्य र निष्ठाभन्दा पनि सम्पत्तिको मोहले चलिरहेको टिप्पणी गरेका छन्।

कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेको स्मृतिमा प्रकाशित ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै भट्टराईले दलहरूबीचको निषेधको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले भने, “आजको समय गम्भीर छ। प्रतिगामी शक्तिहरू सक्रिय छन्, देशमा विभाजन ल्याउने खेल भइरहेको छ। यस्तो बेलामा सबैले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सहकार्य गर्नुपर्छ।”

भट्टराईले आफूलाई अलिअलि कांग्रेस, अलिअलि कम्युनिष्ट र तिनैभन्दा फरक सोच बोकेको मान्छे भएको बताए। उनले २०७४ सालको चुनावमा नयाँ शक्तिको अभियानमा लाग्दा कांग्रेस सभापति शेरबहादुर देउवाको सहयोगको स्मरण पनि गरे।

“शेरबहादुरजी मिलेर जानुपर्छ भन्ने मान्छे हो, बोलेको कुरामा अडान लिन्छन्,” भट्टराईले भने।

कार्यक्रममा उनले आफ्ना मामा चन्द्रप्रकाश न्यौपानेसँग चुनावमा भोट माग्न गएको अनुभव पनि सुनाए। “उनले भने, भान्जालाई दक्षिणा दिन सक्छु, तर भोट भने कांग्रेस बाहेक अरूलाई दिन सक्दिन। म पनि ‘हस्’ भनेर फर्किएको थिएँ,” उनले हाँस्दै स्मरण गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *