काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले राजधानीको तीनकुने क्षेत्रमा अबदेखि कुनै पनि सभा, जुलुस, प्रदर्शन वा धर्ना गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले चैत्र १५ गते तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनापछि यस्तो निर्णय लिएको हो।
समितिका सभापति रामहरि खतिवडाले सो घटनाको भर्त्सना गर्दै, यस्ता हिंसात्मक गतिविधि दोहोरिन नदिन सरकारले गम्भीरता अपनाउनुपर्ने बताए। बैठकले सरकारलाई दोषीको पहिचान गरी छानबिन गर्ने र उनीहरूमाथि कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको छ। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सबैलाई कानूनको दायरामा ल्याउनुपर्ने समितिको धारणा छ।
त्यस्तै, सुरक्षा निकायलाई थप सक्षम बनाउन आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिइएको छ। गत चैत्र १५ को घटनामा दुई जनाको मृत्यु भएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो।




