राजनीति

भारत र चीनसँग नेपालले जति ऋण लिएपनि हुन्छः पूर्वमन्त्री तामाङ

काठमाडौं। नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओली देशभित्र सहमति नजुटेका कुरा बोकेर चीन भ्रमणमा नजाने बताएका छन् । आज (बुधबार) प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको सन्दर्भमा रिपोर्टर्स नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सहमति नभएका कुनै पनि विषयमा प्रस्ताव नराखिने बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यू राष्ट्रभित्र सहमति नभएका विषयहरु बोकेर जानुहुन्न । विदेशमा गएर एक्लैले केही निर्णय गर्नुहुन्न । त्यसकारणले पनि छलफल चलिरहेको छ, राष्ट्रिय सहमति गर्ने प्रयन्त भइरहेको छ । कतिपय चिजहरु राष्ट्रिय सहमति भएनन् भने ती विषयमा प्रस्ताव राख्नुहुन्न । त्यो मर्यादा उल्लङ्घन हुँदैन,’– उनले भने ।

साथै, सहमति भएको खण्डमा चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अनुदानमा अगाडि बढाउनको लागि पहल गरिने उनले बताए । पुराना कतिपय ऋणमा लिइएका परियोजनाहरुलाई पनि अनुदानमा बदल्दिनका लागि अनुरोध गरिने पनि उनले बताए । नेता तामाङले नेपाल भारत र चीनसँग ऋण लिन डराउनुपर्ने कुनै आवश्यक्ता नै नरहेको बताए । नेपालले आफ्नो कूटनीति प्रयोग गरेर भारत र चीनसँग जतिसुकै ऋण लिएपनि हुने बताए ।

‘यदि नेपालको कुटनीतिले भ्याउने हो भने भारत र चीनसँग जति ऋण लिएपनि हुन्छ । कुनै दिनमा गएर नमस्कार गरेर हामीले सकेनौं, अनुदानमा बदल्देउ भन्न सकिन्छ । नेपाललाई निचोरेर केही प्राप्त हुनेवाला छैन । नेपाललाई मनाएर नै भारत र चीनले केही फाइदा गर्न सक्छ । त्यसकारणले हामीले त्यो ढंगको कुटनीति विकास गर्न सक्नुपर्यो,’– उनले भने ।

नेता तामाङले पार्टीको रङ्ग घोलेर अन्तर्राष्ट्रिय सम्बन्ध र छिमेकी मित्र राष्ट्रसँगको सम्बन्धलाई बिगार्न नहुने बताए । चीन र भारतसँग नेपालले समदुरी राख्नुपर्ने उनको बुझाइ छ । आन्तरिक उत्पादन बढाउँदा अहिले देशमा रहेको २४ खर्ब ऋण ३ वर्षभित्र नै तिर्न सकिने पनि उनले बताए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको व्यापारसँग सम्बन्धित विषय, नाका खुलाउने, चीनको बन्दरागाह प्रयोग गर्ने लगायतका विषयमा छलफल हुने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *