राजनीति

राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्नु हुँदैन : विमलेन्द्र निधी

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन् । शुक्रवार जनकपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेता निधिले हतारमा सम्झौता गरेर पछुताउनु भन्दा विस्तृत रूपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताए । उनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बिआरआई चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उल्लेख गरे ।

उनले नेपाली काँग्रेसले चीनबाट बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरूमा अनुदान मात्रै लिने नीति अँगालेको बताए । बिआरआईअन्तर्गत ऋण लिन आफूहरूले नचाहेको बताए । उनले बिआरआई प्रोजेक्टमा व्यापक, विस्तृत रूपमा राष्ट्रिय स्तरमा छलफल हुनु जरुरी रहेको उल्लेख गरे ।

उनले भने, ‘बिआरआई चिनियाँ पोलिसि हो । त्योअन्तर्गत हाम्रो स्ट्यान्ड चर्चाको विषय छ । प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा केके कुरा सही गर्ने ? केके कुरा सम्झौताहरू गर्ने भन्ने विषयमा । नेपाली काँग्रेसको सुरुदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरूमा अनुदान मात्रै लिन्छौँ । लोनमा हामी जाँदैनौँ । मूल विषय त्यही हो ।

हाम्रो तर्फबाट शेरबहादुरजीले र पार्टीले प्रधानमन्त्रीज्यूलाई भनिसक्नुभएको छ । चीन जाँदा खेरी अनुदान बाहेक लोनमा सही नगर्ने भनेर । बिआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रिय स्तरमा छलफल हुनुपर्छ । त्यति मात्रै होइन, म त अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति छु । बिआरआई प्रोजेक्ट नेपालको हितमा छ की छैन ? बिआरआई पोसिलीअन्तर्गत केके विषय हो, त्यसको बारेमा व्यापक छलफल हुनुपर्छ ।’

नेता निधिले बिआरआई प्रोजेक्ट नेपालको हितमा छ वा छैन ? बिआरआई पोसिलीअन्तर्गत केके विषय हो भन्नेबारेमा व्यापक छलफल जरुरी रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *