काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलहरुबीच विश्वासको वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रियास् विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न र मुलुकलाई समुन्नत बनाउन विस्तृत शान्ति सम्झौताका पक्षधर दलहरू काँग्रेस, एमाले र माओवादी केन्द्रका नेतृत्वबीच विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
पछिल्लो समय प्रमुख दलहरुबीच विश्वासको वातावरण नबनेका कारण धेरै काम गर्न असहज भएको उनले बताए । उनका अनुसार देशमा देखा परेका सबै खाले समस्या समाधानका लागि प्रमुख दलहरुले सहकार्य गरेर अघि बढ्नुपर्नेछ । नेताहरुबीच बढेको अविश्वासका कारण पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाको बाँकी काम अघि बढ्ने अवस्था नदेखिएकोउल्लेख गर्दै उनले मुलुकमा सामाजिक न्याय, शान्ति र समृद्धिका लागि विस्तृत शान्ति सम्झौताको जगमा संविधान निर्माण भएको भन्दै त्यसलाई सार्थक बनाउने कार्यमा दलहरुबीच घनिभूत छलफल हुन जरुरी रहेको बताए ।




