काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । उनले अधिवक्ता अफताब आलमलाई वारेस राखेर मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
मुद्दामा कान्तिपुरका अध्यक्षा कैलाश सिराेहिया, प्रबन्ध निर्देशक सम्भव सिराेहिया, प्रधान सम्पादक उमेश चाैहानलगायतलाई विपक्षी बनाइएकाे छ । ‘कान्तिपुर पत्रिकामार्फत तथा अनलाइन पत्रिका ekantipur.com समेतबाट मिति २०८०/०९/०९ गतेदेखि हालसम्म प्रकाशन गरेको गलत समाचार कुनै हालतमा क्षम्य हुन सक्दैन ।
गैरजिम्मेवार तबरले कपोलकल्पित समाचार प्रकाशन गरी मलाई लाञ्छित गर्ने, मेरो दशकौं लामो सामाजिक, व्यावसायिक, राजनैतिक तथा पेसागत जीवन समाप्त पार्ने कुनियत राख्ने, चरित्र हत्या गर्ने तथा मानमर्दन गर्ने अधिकार यी विपक्षी प्रतिवादीहरूलाई छैन,’रिटमा भनिएको छ, ‘पत्रकारिताको मूल मन्त्रलाई बिर्सेर गरिएको प्रकाशन नितान्त दोषयुक्त छ । यस्तो झुट समाचार सम्पादन तथा प्रकाशन गर्ने विपक्षी प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही नगर्ने हो भने पत्रकारिताको नाउँमा जसले जे गरे पनि हुने परिस्थिति सिर्जना हुनुका अतिरिक्त कानूनी व्यवस्था समेत निष्प्रभावी हुने हुँदा मेराविरुद्ध झूटो भ्रामक समाचार सम्पादन र प्रकाशन गर्ने विपक्षीहरूलाई हदै सजाय गरी न्याय दिलाई पाऊँ ।’ रविले कान्तिपुरसँग १५१ रुपैयाँ क्षतिपूर्ति रकम पनि माग गरेका छन् ।
‘म फिरादीको इज्जत, सामाजिक प्रतिष्ठा, राजनैतिक जीवन, सम्मान, पेसा तथा व्यावसायिक जीवनमा समेत गम्भीर धक्का पुर्याउने कलुषित मनसाय राखी मेरो इज्जतमा घृणा तथा अवहेलना हुने गरी मैले आर्जन गरेको ख्यातिलाई ध्वस्त पार्ने बदनियत चिताई जानीबुझी सार्वजनिक रूपमा मेरो चरित्र हत्या हुनेगरी विपक्षीहरूले उल्लेखित मिति २०८०/०९/०९ गतेदेखि मिति २०८०/०९/१३ गतेसम्म कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका र अनलाइन पत्रिका ekantipur.com समेतबाट झुटो समाचार सम्प्रेषण एवं प्रकाशन गरी म फिरादीसमेतको नाम जोडी गालि बेइज्जती गरी मुलुकी अपराधसंहिता २०७४ को गाली बेइज्जतीसम्बन्धी परिच्छेदको दफा ३०५, ३०६ को ०१ र ०२ तथा दफा ३०७ को कसुर गर्नु भएकाले विपक्षीहरूलाई ऐ.ऐ, को दफा ३०५ तथा दफा ३०७ बमोजिम हदैसम्मको कैदको सजाय गरी म तथा मेरो परिवारको इज्जत प्रतिष्ठा, व्यवसाय तथा राजनीतिमा समेत हानी नोक्सानी भएकाले सो समेतलाई मध्यनजर गरी यो फिराद पत्र दर्ता गर्न लाग्ने कानून व्यवसायीको फी, वारेस खर्च, अदालती शुल्क लगायतको खर्चसहित समग्रमा मलाई पर्न गएको क्षतिको न्यायोचित मूल्यांकन गरी ऐ. ऐनको दफा ३०७ को १ बमोजिम विपक्षी प्रतिवादीहरूबाट सांकेतिक रूपमा क्षतिपूर्ति रकम रु. १५१ दिलाई भराई पाऊँ,’ फिराद पत्रमा भनिएकाे छ ।




