मुख्य समाचार

झलनाथ भन्छन्– ०८४ को निर्वाचनमा वामपन्थी शक्तिलाई सिध्याउने योजना बनिरहेको छ

काठमाडौं । एकीकृत समाजवादीका नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ को निर्वाचनमा वामपन्थी शक्तिलाई सिध्याउने योजना बनिरहेको दावी गरेका छन् ।

बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकमा उनले एकजुट भएर अघि नबढे गाह्रो पर्ने भन्दै चिन्तासमेत व्यक्त गरे । ‘कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नतिर लागेनौं भने ०८४ को चुनाव सम्झिनुस् । ०८४ को चुनावमा वामपन्थीहरूलाई धुल्याउने योजना छ । यो बुझिराख्न आवश्यक छ,’ खनालले भने, ‘हामीले अहिलेदेखि नै तयारी गर्नुपर्छ । कुन बाटो हिँड्दा सही हुन्छ त्यो गर्न सकेनौं भने गाह्रो हुन्छ ।’ उनले देशलाई तरंग दिनेगरी पार्टी निर्माणका लागि नेता कार्यकर्तालाई एक हुन जुट्नमसेत आग्रह गरे ।

पुस १३ गतेसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणसम्बन्धी छलफल हुने छ । देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने नेताहरुको भनाइ छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *