काठमाडौं । नेपाली कांग्रेसले चितवनका बागी–विद्रोही नेताहरूको निलम्बन फुकुवा गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय अनुशासन समितिले जिल्ला कार्य समितिलाई पत्र लेखी १८ जना विद्रोही नेतालाई कारबाही फुकुवा गरेको हो । नेपाली कांग्रेसले बुधबार एक विज्ञप्ती जारी गर्दै १८ जना पाटीको नियम विपरित गर्ने विद्रोही नेताहरुको निलम्बन फुकुवा सार्वजनिक गरेको छ ।
२०८० साल वैशाख १० गतेको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी बनाउने उद्देश्यले केन्द्रीय कार्यसम्पादन समितिको चैत्र १९, २०७९ मा भएको निर्णयले अनुशासन सम्बन्धी धाराहरुको आधार मानी २०८० वैशाख ५ गते उक्त उपनिर्वाचनलाई सवल, मजबूत एवं विजयी बनाउने उद्देश्यले केन्द्रीय अनुशासन समितिले विज्ञप्ति मार्फत तीन जिल्ला (बारा, चितवन र तनहुँ) का साथीहरुलाई अनुरोध गरी कारवाही फुकुवा गरिएकोमा तपशील वमोजिमका साथीहरुले विगतमा आफुले गरेका गल्तीप्रति आत्मालोचित गरी उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई विजय गराउन सक्रियपूर्वक भुमिका निर्वाह गरेकाले कारवाही फुकुवा गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
एमाले अध्यक्ष केपी ओली आफैले निर्वाचन आयोगलाई पत्र लेखेर आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर समर्थन गरेका गठबन्धनका बागी उम्मेदवार दिनेश कोइराला कारबाही फुकुवाको पहिलो नम्बरमै परेका छन् । दिनेश काइराला चितवन –३ बाट निर्वाचनमा उमेदवारी उठेपछि केन्द्रीय सदस्यबाट निलम्बनमा परेका थिए ।
१८ जनाको निलम्बन फुकुवा मध्ये जगन्नाथ पौडेलले भने छुट पाएनन् । स्थानीय निर्वाचनमा भरतपुर महानगरको मेयरका उम्मेदवार रेनु दाहालको विरुद्धमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलको निलम्बन फुकुवा भएको छैन् ।
चितवन कांग्रेसका सचिव पोखरेलका अनुसार जगन्नाथजीले खुलेरै घण्टीको पक्षमा भोट मागेपछि उनलाई निलम्बन फुकुवा नगरिएको हो ।





