काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले राज्यका सबै अंगमा भ्रष्टाचार बढेको भन्दै छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।
सोमबार र मंगलबार बसेको केन्द्रीय परिषद्को बैठकले भ्रष्टाचार बढेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाउन माग गर्ने निर्णय गरेको हो ।
त्यस्तै दैनिक उपभोग्य वस्तुहरुको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन समेत बैठकले माग गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले महिला तथा बालबालिकाहरुमाथि भइरहेको यौनिक हिंसा तथा सामुहिक बलात्कारको आपराधिक घटनाप्रति कठोर कानूनी कारबाही गर्न र पीडित महिला तथा बालबालिकाहरुको उचित संरक्षण, उपचार, पुनस्र्थापना र क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गर्ने निर्णय गरेको छ ।




