काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले आफ्नो पार्टीले अहिले रहेको पाँच दलीय गठबन्धनलाई साथमै लिएर चुनावमा जाने सम्भावना रहेको बताएका छन् । उनले कांग्रेस चुनावको पक्षमा रहेको भन्दै चुनाव हुँदैन् कि भन्ने आशंका नपाल्न पनि आग्रह गरेका छन् ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,“नेपाली कांग्रेसमात्रै होईन, संसद्भित्र रहेका संसद्वादी सबै राजनीतिक दलहरु आवद्यिक निर्वाचनमा विश्वास गर्नुहुन्छ । संविधानलाई जोगाउनको निम्ति र बर्करार राख्नको लागि आवद्यिक निर्वाचन संसद्को निम्ति मुटु नै हो भनेपनि हुन्छ । हामीले विगतमा लामो समय निर्वाचन नभएको तितो अनुभव गरेका छौं । आवद्यिक निर्वाचन र बहुवादमा विश्वास गर्ने, लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरु नै सरकारमा भएकोले यसमा तलमाथि हुने कुरा रहेन । खाली प्रक्रियामा प्रवेश गर्दा हामीले ०७४ सालमा चरण–चरणमा निर्वाचन सम्पन्न गर्यौं । त्यसका तिथिमितिको बारेमा छलफल भएको हो । सरकारले सहमतिकै आधारमा जेठमा निर्वाचन प्रक्रिया सुरु गर्नेगरि काम गर्छ ।”
नेता खड्काले निर्वाचनसम्बन्धी अब कुनैपनि किसिमको शंका तथा आशंका नगर्न स्पष्ट पारेका छन् । उनले भने–“अब निर्वाचनसम्बन्धी आशंका गरिरहनुपर्दैन् । र, गर्नुहुँदैन् । यहाँ नेपाली कांग्रेसभित्रको आन्तरिक विषयमा पनि कुरा उठ्यो , कांग्रेसले सबै अंग र साथीहरुलई मिलाएर नै अघि बढ्छ । हाम्रो पार्टीमा विवाद, मतभेद र छलफल हुन्छ । अरु पार्टीको भन्दा बढि नै छलफल हुन्छ । पार्टीले निर्णय गरेपछि त्यही नै अन्तिम धारणा हो । यसलाई नै पार्टी फुटिहाल्ला कि विद्रोह होला कि भन्ने आशंका नगरौं ।”
नेता खड्काले निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने सम्भावना आफूले देखेको सुनाए । उनले पार्टीका नेताहरुको बीचमा पनि निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने वा नजाने भन्नेबारे आ आफ्नो मत रहेको उल्लेख गरे । उनले भने,“यसबारेमा हाम्रो नेताहरुको बीचमा पनि आफ्नै मत र अभिमत छ । होईन, अब पाँच दलीय गठबन्धन निर्वाचनमा सँगै जानुहुन्न, कांग्रेसले एकलै निर्वाचनमा भाग लिनुपर्छ भन्ने पनि मत छ। अर्कोतर्फ, अहिलेको गठबन्धनलाई सँगै साथमा पनि लिएर निर्वाचनमा जानुपर्छ भन्ने पनि अभिमत छ । अहिले कांग्रेस गठबन्धनलाई सँगै साथमा लिएर हिँड्ने मनस्थितिमा छ । तर, यो नै अन्तिम कुरा होईन । केन्द्रयि कमिटीले निर्णय गरेपछि हमाी एकमतले हिँड्छौं । अहिलेसम्मको सोच र छलफल यसमै केन्द्रित छ । कांग्रेसले गठबन्धनमा रहेका दलहरुलाई सँगै नै निर्वाचनमा लएर जाने सोच बनाएको छ ।”
उनले निर्वाचन गर्नेबारे सहमति भएपछि अब ऐन तथा कानून संशोधन गर्ने कुरा अहिले गर्न नहुने धारणा राखे । उनले भने,“निर्वाचनबारे सहमति भएको छ, यस्तो अवस्थामा अहिले चल्न थाल्नुहुन्न, धेरै कुरा मिलाउनुपर्ने । संविधान र ऐनको बीचमा धेरै मिलाउनुपर्नेछ । निर्वाचित भएर आएपछि बरु के के संशोधन गर्ने हो ? प्रयोगबाट प्राप्त कुराबाट साझा धारणा बनाएर अघि बढ्नुपर्छ । ईलेक्शनपछि समिति बनाएर हामी यो काम गर्छौं । यसबारेमा सहमति हुन्छ ।”
उनले आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का भएर चुनावी मैदानमा उत्रिने पनि सुनाए । उनले पार्टीमा कुनै विद्रोह नहुने पनि विश्वास दिलाए । उनले भने,“कुनै पनि घट्ना हुनेतर्फ कांग्रेस उन्मुख छैन् । संसद् खुलाउनको लागि पहल भैरहेको छ । यसको लागि प्रमुख प्रतिपक्षी दल एमालेले गम्भीर भूमिका खेल्नुपर्छ । अब निर्वाचनमा जनुछ, धेरै बाँकी रहेका मुद्दा समाधान गर्नुछ । जनताका धेरै विषय छन् । तिनको पनि निराकरण संसद्बाट नै गर्नुपर्छ । यसको लागि एमालेले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ । १४ जना सांसद्को कारबाहीबारे एमालेको गुनासो छ । हामी बहुवाद, बहुदलीय व्यवस्थामा विश्वास गर्ने भएको कारण बहुदलको अवधारणालाई विश्वास गरेर एमालेले उहाँहरुको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ । उहाँहरुले पार्टी निर्माण गरिसक्नुभएको छ। जनताको निकास दिने थलो नै संसद् हो । २६ गते एमालेका सांसदहरु उपस्थित् भएर जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ ।”
नेता खड्काले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राम्रो काम गरेको दाबी गरे । उनले भने,“लामो समय देउवाले सरकार चलाउन पाउने अवसर पाउनुभएन । कहिले द्धन्द्ध समाधान गर्ने कुरा, कहिले निर्वाचन गराउने काम उहाँको सरकारको पालामा भएका छन्, ठूला ठूला कल्पना गरेजस्तो आज रेल, भोलि पानीजहाज, घरघरमा पाईप पुर्याउने कुरा गर्नुभएन । तर उहाँले प्रक्रियागत काम गर्नुभएको छ । खुल्ला अर्थतन्त्रको कुरा, उदारीकरणको कुरा कांग्रेसकै पालामा भएको हो । टेलिकम, हवाई, यातायात, शिक्षा, सञ्चार सबै क्षेत्रमा कांग्रेस नेतृत्वमा हुँदै काम भएको छ। विकास निर्माणको अपेक्षा राख्नुभएको हो भने र गतिशिलता खोजेको हो भने त्यो अहिले भएको छैन् । तर, अहिले सरकार शून्यतामा छैन् । प्रक्रियागत काम भैरहेका छन् ।”




