समाचार

प्रधानमन्त्री फर्किएको भोलिपल्टै दुर्गा प्रसाईं दिल्लीमा

काठमाडौं । नेपाल पथ दलका अध्यक्ष दुर्गा प्रसाईं भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानमार्फत चर्चामा आएका प्रसाईं गत मंगलबार भारत गएको बताइएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएको भोलिपल्टै प्रसाईं दिल्ली पुगेका हुन्। प्रधानमन्त्रीको भ्रमणलगत्तै उनको भारत भ्रमण हुनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

प्रसाईं निकट स्रोतका अनुसार उनी टोलीसहित काँकडभिट्टा नाका हुँदै भारत प्रवेश गरेका थिए। त्यसपछि सिलिगुडीबाट बागडोगरा विमानस्थल पुगेर भारतीय आन्तरिक उडानमार्फत नयाँदिल्ली गएको बताइएको छ।

प्रसाईंको दिल्ली भ्रमणको उद्देश्यबारे भने विस्तृत जानकारी सार्वजनिक भएको छैन। उनी काठमाडौं फर्किएपछि पत्रकार सम्मेलनमार्फत भ्रमणका विषयमा जानकारी दिने तयारीमा रहेको बुझिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *