देश

भैरहवामा ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी, दुई ट्याङ्कर प्रहरी नियन्त्रणमा

काठमाडौं ।  भारतबाट भन्सार प्रक्रिया पूरा गरी नेपाल ल्याइएको पेट्रोलियम पदार्थ बीच बाटोमै चोरी भइरहेको अवस्थामा रुपन्देही प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले नेपाल आयल निगमको भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका दुई ट्याङ्करलाई भैरहवास्थित सराफ आयल सेन्टरबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मंगलबार बिहान करिब ९ बजे भलवारी डिपोतर्फ ल्याइँदै गरेका लु २ ख १५४४लु १ ख ६५०४ नम्बरका ट्याङ्करबाट सराफ आयल सेन्टरमा तेल निकालिरहेको अवस्थामा करिब १० बजे नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिँदा दुवै ट्याङ्करको सिल तोडिएको र ट्याङ्करबाट पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक सहचालकलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । स्रोतका अनुसार भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने केही ट्याङ्कर व्यवसायी र आयल सेन्टर सञ्चालकबीचको मिलेमतोमा लामो समयदेखि तेल चोरी हुँदै आएको आशंका गरिएको छ । करिब छ महिनादेखि यस्तो गतिविधि हुँदै आएको र एउटा ट्याङ्करबाट दैनिक ५ हजार लिटरसम्म पेट्रोलियम पदार्थ निकालेर बिक्री गर्ने गरिएको दाबी स्रोतको छ ।

यस प्रकरणमा नेपाल आयल निगमको भलवारी डिपोका केही कर्मचारीको भूमिकामाथि समेत अनुसन्धान हुनुपर्ने प्रश्न उठेको छ । चोरीका क्रममा ट्याङ्करको अनिवार्य रूपमा तोडिने सिलको जाँच तथा आयात भएको पेट्रोलियम पदार्थको नापजाँच प्रभावकारी रूपमा नभएको स्रोतको दाबी छ । यस्ता गतिविधिमा ढुवानीकर्ता, आयल सेन्टर तथा डिपोका कर्मचारीबीच मिलेमतो भए–नभएको विषय अनुसन्धानबाट खुल्नेछ । पक्राउ परेका ट्याङ्कर र सहचालकमाथि अनुसन्धान अघि बढाउँदै प्रहरीले पेट्रोलियम पदार्थ चोरीको सञ्जाल र यसमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

भलवारी डिपोका लागि ढुवानी हुने ट्याङ्करबाट यसअघि पनि पेट्रोलियम पदार्थ चोरीका घटना सार्वजनिक हुँदै आएका थिए । पछिल्लो घटनाले पेट्रोलियम पदार्थ ढुवानी तथा डिपोमा हुने नापजाँच र सिल परीक्षण प्रणालीमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *