देश

१५औं महाधिवेशन गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्ने मेरो जिम्मेवारी हो : निर्वतमान सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद र असमझदारी अन्त्य गर्दै निर्धारित १५औँ महाधिवेशनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै देउवाले जारी गरेको अपिलमा पार्टीभित्रको विवादलाई लिएर विशेष महाधिवेशनतर्फ अघि बढ्ने प्रयासप्रति असन्तुष्टि जनाएका छन्।

देउवाले आफू १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भएकाले १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक जिम्मेवारी भएको स्पष्ट पारेका छन्। ‘देशभरिका महाधिवेशन प्रतिनिधिद्वारा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक जिम्मेवारी हो,’ देउवाले भनेका छन्। उनले पार्टीको विधानको प्रावधान कायम रहेकै अवस्थामा सहमति र समझदारीको बाटो छाडेर विशेष महाधिवेशनका नाममा अघि बढ्नु उचित नभएको बताएका छन्। विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठिरहेको र विषय अदालतमा समेत विचाराधीन रहेको अवस्थामा त्यससम्बन्धी प्रक्रिया अघि बढाउनु राजनीतिक तथा नैतिक दृष्टिले उपयुक्त नहुने उनको तर्क छ।

देउवाले विशेष महाधिवेशनको पक्षमा अघि बढिरहेको समूहले पार्टीभित्रको विधि, विधान र कानुनी प्रक्रियालाई बेवास्ता गर्न खोजेको लगाएका छन्। उनका अनुसार विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्दै कांग्रेस एकता, सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने आवश्यकता छ। उनले पार्टीभित्रको आन्तरिक मतभेदका कारण कांग्रेस कमजोर बन्ने अवस्था सिर्जना गर्न नहुनेमा जोड दिएका छन्। मुलुकमा देखिएको प्राकृतिक विपत्तिको कठिन समयमा सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र र आम नागरिक एकजुट भएर उद्धार, राहत तथा पुनःस्थापनामा लाग्नुपर्ने उनको आग्रह छ।

देउवाले २०७२ सालको भूकम्प र कोरोना महामारीका बेला पनि नेपाली समाज र राजनीतिक दलहरू एकताबद्ध भएर संकटबाट बाहिर निस्किएको स्मरण गरेका छन्। अहिले भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा पनि त्यस्तै राष्ट्रिय एकताको आवश्यकता रहेको उनले बताएका छन्। कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनदेखि शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, नागरिक अधिकार र राज्यको पहुँच विस्तारलगायतका क्षेत्रमा भूमिका निर्वाह गरेको उल्लेख गर्दै देउवाले विगतका उपलब्धिमा मात्र सन्तुष्ट भएर बस्न नहुने बताएका छन्।

उनले मुलुकलाई आर्थिक रूपमा समृद्ध, राजनीतिक रूपमा स्थिर र विकसित राष्ट्रका रूपमा अघि बढाउन कांग्रेसले नयाँ प्रतिबद्धतासहित काम गर्नुपर्ने धारणा राखेका छन्। राज्यप्रति नागरिकको विश्वास थप सुदृढ बनाउन पनि पार्टीभित्र एकता आवश्यक रहेको उनको भनाइ छ। देउवाले आफू कुनै पदका लागि सक्रिय नरहेको संकेत गर्दै जीवनको अन्तिम समयसम्म राज्य र पार्टीका लागि आवश्यक जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने बताएका छन्। अपिलको अन्त्यमा उनले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई कांग्रेसभित्र देखिएको वर्तमान विवाद अन्त्य गर्दै एकताबद्ध भएर आगामी २१, २२ र २३ गते सम्पन्न हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन्।

देउवाको अपिललाई कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्किरहेका बेला आएको राजनीतिक सन्देशका रूपमा हेरिएको छ। उनले विशेष महाधिवेशनको प्रक्रियाभन्दा नियमित १५औँ महाधिवेशनलाई प्राथमिकता दिनुपर्ने धारणा स्पष्ट रूपमा अघि सारेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *