काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रसुवामा बाढीपहिरोले पुर्याएको क्षति तथा उद्धार कार्यका विषयमा प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराएका छन्।
शनिबार प्रधानमन्त्री निवासमा भएको भेटमा आङ्देम्बेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा बाढीपहिरोका कारण सिर्जित अकल्पनीय अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन्।
प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय बासिन्दा तथा प्रशासनसँग छलफल गरेपछि उनले प्रधानमन्त्रीसँग भेट गरेका थिए।
भेटका क्रममा उनले बाढीपहिरो प्रभावित नागरिकको अवस्था र राज्यका तर्फबाट भइरहेका उद्धार तथा राहत कार्यबारे जानकारी गराए। विशेषगरी रसुवास्थित अपर त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा भइरहेको ढिलाइप्रति उनले चासो व्यक्त गरे।
प्रतिकूल मौसमका बाबजुद उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी उद्धार कार्यलाई तीव्रता दिनुपर्नेमा आङ्देम्बेले जोड दिए।
जवाफमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा उद्धारका लागि आवश्यक पहल भइरहेको र छिट्टै उद्धार कार्य अघि बढ्ने आश्वासन दिएको आङ्देम्बेले सञ्चारकर्मीलाई जानकारी दिए।
आङ्देम्बेले भने, ‘अपर त्रिशूलीका तीनवटा सुरुङमध्ये एउटामा हिजैदेखि उद्धार सुरु भए पनि अन्य दुईवटामा खराब मौसमका कारण कठिनाइ भइरहेको छ। विपद् भएको तीन दिन भइसकेकाले उद्धारमा थप ढिलाइ भए सुरुङभित्र रहेकाहरूको जीवितै उद्धार गर्ने सम्भावना क्षीण हुँदै जानेतर्फ मैले प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएको छु।’
आङ्देम्बेले शुक्रबार प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पीडित परिवार तथा स्थानीय प्रशासनसँग त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।




