देश

कांग्रेसको राजनीति वृतमा विष र अमृतको मन्त्र : विरासत भत्काउने र जोगाउनेबिचको लडाईँ

काठमाडौं । नेपाली कांग्रेसभित्र यतिबेला दुई धारको राजनीति चलिरहेको छ । एकतर्फी भेला बोलाएर विशेष महाधिवशेनबाट निर्वाचित भएका,आयोग र अदालतको मान्यता पाएका थापाले नेपाली कांग्रेसभित्र दुई धारको राजनीतिक पाटो बनाउन बाध्य बनाए ।

देशभरीका कांग्रेसलाई बोलाएर महाधिवेशन गर्न नसकेपछि विवादै विवादकाबिच थापाले गरेको महाधिवेशनले कांग्रेसलाई दुई धुर्वमा परिणत गरेको छ । नेपाली कांग्रेस संस्थापन समुह विशेष महाधिवेनलाई वैधता मानेर अघि बढ्न खोजिरहेको छ भने संस्थापनइतर समुह विषेष महाधिवेशनलाई अवैधानिक मानेर पुनः अवलोकन र १५ औँ महाधिवेशन रोक्ने मागसहित सर्वोच्चमा पुगेका छन् ।  सर्वोच्चमा निवर्तमान सभापति र निवर्तमान कार्यबाहक उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसको एकताका लागि महाधिवेशन रोक्न माग गर्दै रिट दिएका छन् । सोही कारण नेपाली कांग्रेसको आन्तरिक राजनीति यतिबेला गम्भिर मोडमा पुगेको छ ।

एकातिर विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका गगनकुमार थापा पुरानो नेतृत्व र परम्परागत शक्ति संरचनाबाट आफूलाई अलग देखाउन खोजिरहेका छन्। अर्कोतिर पार्टीको लामो समय नेतृत्व गरेका शेरबहादुर देउवा कांग्रेसको संस्थागत संरचना, कानुनी लडाइँ र पुरानो कांग्रेसको विरासत जोगाउने प्रयासमा तल्लिन देखिन्छन् । नेपाली कांग्रेसको नेतृत्व कम्जोर हुँदा देशले भोगेको पीडालाई शक्तिमा बदल्ने प्रयासमा छन् । कांग्रेसको स्थापना कालबाट नै नेपाली कांग्रेसको इतिहासलाई बिराजमान गराउने लक्ष्यमा कांग्रेस संस्थापनइतर समुह देखिन्छ ।

यसलाई कांग्रेसभित्रको सामान्य नेतृत्व प्रतिस्पर्धाका रूपमा मात्र बुझ्न कठिन छ। अहिलेको संघर्ष नेतृत्व कसले गर्ने भन्नेभन्दा पनि कांग्रेसको भविष्य कुन राजनीतिक संस्कार र संरचनाले निर्धारण गर्ने भन्ने प्रश्नसँग जोडिएको छ। कठिन माेडमा पनि निर्वतमान सभापति पार्टीलाई एकजुट बनाउने अभियानमा छन् ।  जेनजी आन्दोलनका क्रममा स्वख्त घाइते भएका देउवाले पाँच महिनापछि सिंगापुरबाट नेपाल फर्केपछि पार्टीलाई एक गराउने राणनीतिका साथ अघि बढेका छन् । तर सभापति गगन थापा समुहले इतर समुहको कुरा अस्वीकार्य गर्दै अघि बढेपछि अदालतको ढोकामा इतरसमुहको रिट दर्ता भएको हो ।

गगन थापाको राजनीतिक शैली पछिल्ला घटनाक्रमसँगै झन् आक्रामक बनेका छन् भने पुरानो कांग्रेसको निर्देशन, दबाब र परामर्शलाई स्वीकार गर्नेभन्दा आफ्नै राजनीतिक मार्गचित्रअनुसार अघि बढ्न चाहन्छन्। यसले गर्दा यतिबेला कांग्रेसभित्र देखिएको चरम भेद देखिएको छ । विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले पार्टीको नियमित १५औँ महाधिवेशनको तयारी अघि बढाएपछि त झन कांग्रेसभित्रको कल्चर नै सक्न लागिएको हो कि भन्ने प्रश्न संस्थापनइतर अर्थात देउवा समुहले उठाएको छ । देउवा समुहले एकतर्फी गरिएको विशेष महाधिवेशलाई अवैधानिक भन्दै आएको छ ।

गगनको रणनीति इतरसमुहका नेताहरुमाथि दबाब सिर्जना गरी उनीहरुलाई कम्जो बनाउनु रहेको प्रष्टै देखिन्छ । पुरानो कांग्रेसलाई पूरै अस्वीकार गरेर नयाँ कांग्रेस निर्माण गर्न खोज्दा संगठनभित्रको ठूलो पंक्ति असन्तुष्ट बनेको छ । कांग्रेस केवल केन्द्रीय नेतृत्वको पार्टी होइन, यसका जिल्ला, क्षेत्र, गाउँ र पुराना कार्यकर्ता संरचनाहरूमा दशकौँदेखि स्थापित शक्ति सम्बन्ध बनेका कारण सोही युनिटले गगन थापा समुहको क्रियाकलाप र दबाबको राजनीतिको चर्को आलोचना गरिरहेका छन् ।

शेरबहादुर देउवाको राजनीतिक शक्ति चुनावी भाषणमा भन्दा संगठनभित्रको सम्बन्ध र संरचनामा बढी देखिन्छ। लामो समय पार्टी नेतृत्वमा बसेका देउवाले कांग्रेसभित्र बनाएको आफ्नो सञ्जाल एकैपटक समाप्त हुने अवस्था भने छैन। त्यसैले अहिले उनी प्रत्यक्ष राजनीतिक भिडन्तभन्दा संस्थागत र कानुनी संरक्षणको बाटोमा देखिन्छन्। पार्टीको आधिकारिकता र महाधिवेशनको प्रक्रियासम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुग्नु त्यसकै एउटा उदाहरण हो।

देउवा पक्षको बुझाइमा विशेष महाधिवेशनको नाममा पार्टीको स्थापित संरचनालाई विस्थापित गर्न खोजिएको छ। त्यसकारण उनीहरूका लागि अहिलेको संघर्ष केवल पदको लडाइँ होइन, कांग्रेसको परम्परागत संगठन र वैधानिक निरन्तरताको रक्षा गर्ने विषय बनेको हो । यही कारण देउवा स्वयंभन्दा पनि उनीसँग जोडिएको पुरानो कांग्रेस संरचना अहिले सक्रिय देखिन्छ। देउवाको राजनीतिक शक्ति कमजोर भए पनि उनीसँगै बनेको संस्थागत घेरा अझै पूर्ण रूपमा निष्क्रिय छैन, सक्रिय रुपमा अघि बढिरहेको छ ।

राजनीतिमा एउटै निर्णय कसैका लागि अमृत र कसैका लागि विष बन्न सक्छ। कांग्रेसभित्र अहिले यही अवस्था देखिएको छ।
देउवा पक्षका लागि अदालत, पुरानो विधान र संगठनको संरचना सुरक्षा कवच हो। तर गगन पक्षका लागि त्यही प्रक्रिया परिवर्तन रोक्ने राजनीतिक ‘ब्रेक’ बन्न सक्छ।

अर्थात्, अहिले कांग्रेसमा एक पक्षले जसलाई सुधार र परिवर्तनको औषधि ठानेको छ, अर्को पक्षले त्यसलाई पार्टी कमजोर बनाउने विषका रूपमा हेरिरहेको छ। यही नै कांग्रेस राजनीतिमा देखिएको विष र अमृतको अनौठो मन्त्र हो। कांग्रेसभित्रको सबैभन्दा ठूलो समस्या मतभेद मात्र होइन, संवादको कमी हुनुपनि हो । नेतृत्वका दुई धारबीच राजनीतिक सहमतिको सम्भावना साँघुरिँदै जाँदा कार्यकर्ताको तहसम्म अन्योल बढ्न बढेको विश्लेषण राजनीतिज्ञ विश्लेषकहरु बताउँछन् ।

कांग्रेसभित्रको यो संघर्षमा विजय केवल अदालतको फैसला वा महाधिवेशनको परिणामले तय गर्ने छैन। पार्टीभित्र संवाद पुनःस्थापित हुन्छ कि हुँदैन, पुरानो र नयाँ पुस्ताबीच शक्ति सन्तुलन कसरी मिल्छ र कांग्रेसले आगामी निर्वाचनसम्म आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्छ-त्यसले वास्तविक परिणाम निर्धारण गर्नेछ। अहिलेका लागि भने कांग्रेसभित्रको राजनीति यही विरोधाभासमा चलिरहेको छ—गगनका लागि पुरानो कांग्रेसबाट छुटकारा अमृतजस्तै देखिन्छ, देउवाका लागि कांग्रेसकै पुरानो संरचना संरक्षणको अमृत बनेको छ। तर दुवैले एकअर्काको बाटोलाई विष ठानिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *