काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले विगतमा कोषको रकमबाट विमान खरिदमा गरिएको लगानी अपेक्षाअनुसार फलदायी हुन नसकेको उदाहरण प्रस्तुत गरे ।
उनले आगामी दिनमा राजनीतिक अभिष्टबाट प्रेरित भएर लगानीसम्बन्धी निर्णय हुने अवस्था न्यूनीकरण गर्न सरकार सचेत रहेको स्पष्ट पारे ।
कोषमा रु. ७०० अर्बभन्दा बढी रकम रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले कर्मचारीको रकमलाई सुरक्षित र प्रतिफलमुखी ढङ्गले परिचालन गर्नुपर्ने बताए । रकम लगानी नगरी सञ्चित गरेर मात्र राख्नु कोषको उद्देश्य नभएको उनको भनाइ थियो ।
कोषको नेतृत्व तथा सञ्चालक समिति सदस्य नियुक्तिमा ‘मेरिटोक्र्याटिक’ अर्थात् योग्यतामा आधारित प्रक्रिया अपनाइएको र प्रशासक छनोट प्रतिस्पर्धात्मक विधिबाट गरिएको उनले जानकारी दिए ।
विधेयकमा कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना तथा महिला सहभागितालगायत विषयमा सांसदहरूले उठाएका प्रश्नलाई दफावार छलफलका क्रममा संशोधनमार्फत सम्बोधन गर्न सकिने अर्थमन्त्री वाग्लेले बताए ।
आजकै बैठकले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए।




