काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ परीक्षा केन्द्रमा सञ्चालन हुने पूर्वनिर्धारित एमबीएस परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ।
मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ।
त्रिविका रजिस्ट्रार महानन्द चालिसेले हालको परिस्थितिका कारण परीक्षा स्थगित गरिएको र नयाँ मिति पछि सार्वजनिक गरिने जानकारी दिए।
स्थगित भएका परीक्षा केन्द्रमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलंगवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस (सिरहा), जेएस मुरारका बहुमुखी क्याम्पस (लहान), महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस (राजविराज), नेशनल पिपुल कलेज (कञ्चनपुर, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (बारा) र ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) रहेका छन्।
त्रिविले यीबाहेकका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने जनाएको छ।
स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र सार्वजनिक गरिने त्रिविका सहायक डिन डा. भरत राईद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।





