काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा. हनान एच. बाल्खीले डब्लूएचओको महानिर्देशक पदका लागि आफ्नो उम्मेदवारीमा नेपालबाट समर्थनको अपेक्षा गरेकी छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा डा. बाल्खीले आफ्नो उम्मेदवारी, दृष्टिकोण तथा प्राथमिकताबारे जानकारी गराउँदै नेपालको समर्थनको अपेक्षा व्यक्त गरेकी हुन् ।
भेटका क्रममा डा. बाल्खीले नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाल सरकारले देखाएको नेतृत्वको प्रशंसा गरिन् ।
परराष्ट्रमन्त्री खनालले कठिन समयमा साउदी अरबले नेपालप्रति व्यक्त गरेको ऐक्यबद्धताप्रति आभार व्यक्त गरे । उनले जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्यसम्बन्धी जोखिम तथा रोगको प्रभाव नेपाललगायत विकासशील मुलुकमा बढ्दै गएको बताए ।
मन्त्री खनालले जलवायुजन्य स्वास्थ्य चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र प्रभावकारी स्वास्थ्य प्रणाली आवश्यक रहेकोमा जोड दिए ।
भेटमा नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिकरलगायत सहभागी थिए ।




